अखिल नेपाल फुटबल संघ ९एन्फा०को सातौं कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिब २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डसहितको फुटबल रंगशाला निर्माण गर्न अतिआवश्यक देखिएकाले नेपाल सरकार, प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।यसैगरी, नयाँ रंगाशाला निर्माण गर्न २२,००,००० अमेरिकी डलर विनियोजन गर्ने र रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहनेगरी तीन सदस्य समिति गठन पनि गरिएको छ ।
यसैगरी, दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । दशरथ रंंगशालाको मैदान मर्मतको लागि ३००,००० अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ ।