ललितपुर - ‘चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान कार्यक्रम सुरु भएकाे छ । अभियान ललितपुर महानगर विपत् व्यवस्थापन शाखाले आजदेखि सुरु गरेको हाे। आगलागी रोकथामका उपाय, अनपेक्षित आगलागीका पूर्वतयारीका पम्प्लेट, श्रव्यदृश्यका कार्यक्रमहरू शुभारम्भ गरिएको छ।
ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ ।मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरु पुर्याई सक्नेगरी योजना तय गरिएको पनि बताउनु भयो । नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपद्मा ललितपुर महानगरपालिका पहिलो बनाउनु आफ्नो उद्देश्य रहेको बताउनुभयो ।
मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु राम्रोसँग अघि बढाएको दाबी समेत गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशनहरु बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट शुरु गर्ने समेत जानकारी दिनुभयो ।
मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताउनुभयो ।