महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायात निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको समन्वय र संवादमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायात प्रयोग गर्न पाउने गरी शुक्रबार समझदारी भएको छ । सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने छन् । यसका लागि महिला स्वास्थ्य स्वयंसेविकाले पोसाक लगाउनुपर्ने वा परिचयपत्र बोकेको हुनु पर्छ । स्वास्थ्यमन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकालाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गर्नुभएको थियो । उहाँको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सहमत भएपछि समझदारी भएको हो ।
कात्तिक १५ गतेदेखि उक्त व्यवस्था लागु गर्न मन्त्री पौडेलको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाउनुभयो ।