सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन आठ सदस्यीय संयन्त्र बनाएको छ ।
संयन्त्रको कार्यदलमा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् भने कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेकी छन् ।
यसैगरी, मंगलबार बसको दुई दलीय संयन्त्रको कार्यदलको बैठकले कार्यदलको संयोजन दुई दलले एक/एक महिना पालैपालो गर्ने निर्णय गरेको छ । मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति खड्काले कार्यदलको बैठकको संयोजन गर्नेछन् ।यसैगरी, चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने निर्णय भएको छ ।
दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने निर्णय भएको बताइएको छ ।