आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस ३४औँ स्मृति दिवस मनाउन लागिएको छ ।
नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएका छन् ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच ) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए।
‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’ ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल द्यौरालीमा’, आजै र राति के देखेँ सपना’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘पोखिएर घामको झुल्का’ र ‘तिमीले भनेका सारा देव छोएर’ लगायत उनका गीत लोकप्रिय छन्।