कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङप्रेरित लुम्बिनीले लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार टस जितेर सुरुमा ब्याटिङ गर्ने आफ्नो निर्णयलाई सही साविक गर्दै रोहितले अर्धशतक प्रहार गरेपछि लुम्बिनीले निर्धाति २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गर्यो ।इनिङको अन्तिम बलमा रनआउट भएका लुम्बिनीका रोहितले ९५ रन बनाए । शतक बनाउन पाँच रनले चुकेका रोहितले उनले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरे । प्रतियोगितामा रोहित अर्धशतक बनाउने १०औँ ब्याटर बने ।४६–३ को कठिन स्थितिबाट रोहितले चौथो विकेटका निम्ति टम मोरिससँग ११० रनको शतकीय साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए ।जारी प्रतियोगितामा चौथो विकेटका निम्ति बनेको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि, चितवनका कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए । कुशल र रविले पोखराविरुद्ध नै यो साझेदारी बनाएका थिए ।मोरिसले ४५ रन बनाए । अर्धशतक बनाउन पाँच रनले चुकेका मोरिसले ३८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । मोरिसलाई १९औँ ओभरको अन्तिम बलमा आन्द्रियस गौसले रनआउट गरेका थिए ।
लुम्बिनीको खातामा सन्दीप जोराले १८ रन थपे । सातौँ ओभरको पहिलो बलमा म्याट क्रिट्च्लीबाट एलबीडब्लूको धरापमा पर्नुअघि सन्दीपले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विवेक यादव दुई रनमा अविजित रहे ।त्यसअघि लुम्बिनीका दुवै ओपनर डक भएका थिए । ओपनर आशुतोष घिरैया पहिलो ओभरको तेस्रो बलमा विपीन खत्रीबाट एलबीडब्लू आउट भए । अर्का ओपनर उन्मुक्त चन्द पनि चार बल खेल्दै रन नजोडी पभेलियन फर्किए । उन्मुक्तलाई तेस्रो अोभरको दोस्रो बलमा विपीन खत्रीले रेमन रेफरबाट क्याच गराएका थिए ।