ललितपुर गोदावरी २२मङ्सिर : गोदावरी नगरपालिका वडा नं. १४ मा अवस्थित मामाघर अनाथाले आश्रमको सामाजिक लेखा परीक्षण २०८०/२०८१ सम्पन्न भएको छ। यस अवसरमा प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष सानुराज घिमिरे र आश्रमका संस्थापक बालयोगेश्वर विजय कृष्णमूर्तिले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रममा अध्यक्ष घिमिरेले आश्रमलाई ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा गर्दै जीवनभर आश्रमलाई सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।
आश्रमका संस्थापक विजय कृष्णमूर्तिले आश्रमको प्रगतिबारे जानकारी गराउँदै गोदावरी नगरपालिका वडा नं. ३ मा चार रोपनी जग्गा खरिद भइसकेको र यही आउँदो पुष २७ गते आश्रमको सिल्यान्यास गरिने जानकारी दिनुभयो।
सामाजिक लेखा परीक्षणका क्रममा आश्रमले महायज्ञ र विभिन्न दाताहरूबाट संकलित ६९ लाख ९९ हजार १०१ रुपैयाँ आम्दानी गरेको र कुल खर्च एक करोड २१ लाख ८७ हजार ९०२ रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरियो।
त्यसैगरी, ललितपुर गोदावरी धार्मिक तथा सांस्कृतिक महोत्सव एवं श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट संकलित रकमबाट ३० लाख रुपैयाँ छुट्याई आश्रम निर्माणका लागि बचत गरिएको जानकारी पनि सार्वजनिक गरियो।आश्रममा ८३ वटा अभिभावकविहीन बालबालिका यस आश्रममा आश्रित छन् भने विजय मूर्तिलेजानकारी गराउनुभयो।
कार्यक्रममा वडा सदस्यहरू, शिक्षकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थित थियो ।
अर्चना झा रासस