ललितपुर , २५ मङ्सिर : विश्व भवन निर्माण तथा काष्ठकर्मी महासङ्घको अनुसन्धान अनुसार, वैदेशिक रोजगारमा जाँदा भाषा र सिप सिकेर जाने व्यक्तिहरूले राम्रो तलब पाउनका साथै कम दुःख भोग्ने गरेका छन्।
राष्ट्रिय गठबन्धन बैठक काठमाडौँमा वि.डब्लु.आइ.को आयोजनामा कार्यक्रम भएको छ। बैठकमा निर्माण क्षेत्रमा वैदेशिक रोजगारका लागि नयाँ माइग्रेसन करिडोरहरूको विषयमा अनुसन्धानको नतिजा प्रस्तुत गरियो। कार्यक्रम वि।डब्लु।आई। न्याकका अध्यक्ष प्रदीप आचार्यको अध्यक्षतामा भएको छ ।अध्यक्ष आचार्यका अनुसार, पूर्वी युरोपमा हाल वैदेशिक रोजगारका लागि ९६ हजार नेपाली कामदार कार्यरत छन् । रोमानिया, क्रोएसिया, र सर्बियाजस्ता युरोपेली गन्तव्यहरूमा नेपाली कामदारका लागि निर्माण, कृषि, आतिथ्य, र अस्पताल क्षेत्र रोजगारीका प्रमुख क्षेत्रहरू हुन्। उहाँले कामदारहरूलाई सिप र गन्तव्य देशको भाषा सिकेर जाने सल्लाह दिनुभयो।
देश प्रदेश अनलाइनका सम्पादक सुनिल न्यौपानेले प्रस्तुतिकरणका क्रममा अनौपचारिक विचोलियाहरूले पाँच लाखमा हुने रोजगारीलाई २० लाखदेखि ५० लाखसम्मको शुल्कमा पुर्याउने गरेको तथ्य सार्वजनिक गर्नुभयो। न्यौपानेका अनुसार, पोर्चुगलमा कडाइका कारण पोल्यान्डमा दर्ता भएका संस्थाहरूले श्रम प्रवासमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छ ।
अनुसन्धान प्रस्तुतिकरण गर्दा अधिवक्ता नीलम्बर बडालले पूर्वी युरोपमा ज्यालामा कुनै भेदभाव नभएको बताउनुभयो। स्थानीय कामदारको सरह समान तलब, खान बस्नको सुविधा, र न्यूनतम ६०० डलरको भुक्तानी व्यवस्था रहेको जानकारी गराउनुभयो।
नेपाली कूटनीतिक मिसन नियोग फिनल्याण्ड, जर्मनी, नर्वे, रुस, स्विजरल्यान्ड, र बेलायतमा त भए पनि श्रमिकका लागि प्रभावकारी काम नगरेको अनुसन्धानले देखाएको छ।कार्यक्रममा महासङ्घका प्रतिनिधिहरूले वैदेशिक रोजगार र अप्रवासीहरूको स्थितिबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।
अर्चना झा रासस