काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारीसाधन गुड्न थालेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् । व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ उक्त स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए ।सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिजी प्रकाश कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्का लगत्तै अविरल वर्षा,चाडबाड र बाढीले काममा बाधा पुगेको थियो । काठमाडौं डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कात्तिक २ गतेबाट काम सुरु भएको थियो ।
निर्माण थालेको ४६ दिनमा काम सकिएको डिभिजन प्रमुख भण्डारीले बताए ।गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको थियो ।