अहिले सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर भन्दै एउटा तस्वीर भाइरल भइरहेको छ । जसमा रवि दावी गरिएका व्यक्ति सुतिरहेका देखिन्छन् ।
उक्त तस्वीर रविको हो वा होइन भन्ने विषयमा अहिले जनमानस दुई पक्षमा बाँडिएका छन् । रास्वपाका नेता कार्यकर्ता र समर्थकले तस्वीर रविकै भएको र उनीमाथि हिरासतमा पनि निगरानी भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् भने कोहीले तस्वीर नक्कली भएको बताइरहेका छन् ।यसैबीच रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले उक्त तस्वीर रविकै भएको र तस्वीर आफूले नै खिचेको दावी गरेका छन् । उनले प्रहरीको मनिटरबाट आफूले रविको हिरासतभित्रको तस्वीर खिचेको बताएका हुन् ।
तस्वीर उनले सामाजिक सञ्जालमा राखेका थिए । तर केही समयमा नै हटाएका छन् । भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको नभइ आफूले सार्वजनिक गरेको र यसमा आफू दोषी रहेको बताएका हुन् ।‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ । यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु,’ उनले भनेका छन् ।
आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको बेला प्रहरीको मनिटरबाट आफूले तस्वीर खिचेको उनको भनाइ छ ।