ललितपुर - ललितपुर महानगरले आयोजना गरेको छैठौं मेयर कप अन्तर वडास्तरीय टेबुल टेनिस प्रतियोगिता शनिवारबाट सुरु भएको छ ।
पुस १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । महानगरले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहित गर्न फुटबल लगायतका थुप्रै खेल विधामा लगानी गरेको उनले बताए । ललितपु महानगरले शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको प्रष्ट पारे ।
प्रतियोगितामा महानगरका २४ वटा वडाका ६ सय ३७ खेलाडीको सहभागिता रहनेछ । उनीहरुबीच १६ वटा विधामा प्रतिस्पर्धा हुने महानगरका प्रवक्ता तथा वडा नंं.९का वडा अध्यक्ष राजु महर्जनले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सबै विधामा पहिलो,दोस्रो, तेस्रो हुनेलाई नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता ललितपुर महानगरपालिकाको वडा नंं.स्थित गःछेँ टोलमा आयोजना गरिएको छ ।
टेबुल टेनिसका राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीले टेबुल टेनिसको राष्ट्रिय खेलाडी उत्पादन गर्न यो प्रतियोगिगताले धेरै मद्दत गर्ने बताए । ललितपुर महानगरले आयोजना गर्ने टेबुल टेनिस प्रतियोगिता रात्रीकालीन प्रतियोगिता भएको बताउँदै भने, ‘ यो प्रतियोगिताको यो विशेषता हो, यो प्रतियोगिताको यो पहिचान पनि हो , रात्री आयोजना हुने प्रतियोगिता हेर्न निकै रमाइलो हुन्छ, रोमाञ्चक हुन्छ । ’
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले ललितपुरले खेलकुदका अन्य विधासँगसँगै टेबुल टेनिसलाई पनि प्राथमिकता दिएकोमा धन्यवाद दिए ।
जिल्ला टेबुल टेनिस संघ, ललितपुरका अध्यक्ष आशिष अवालेले खेलप्रेमीका लागि यो उत्सव भएको बताए । जोसिला खेलाडी सहभागी भएको यो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सहयोग गर्ने बताए ।
यस वर्षको यो प्रतियोगिता ललितपुर महानगर वडा नं.९ ले जिल्ला टेबुल टेनिस संघ, ललितपुरसँग सहकार्य गरी आयोजना गरेको हो । अघिल्ला वर्ष यो प्रतियोगिता वडा नंं। ११ले आयोजना गरेको थियो । अर्को वर्ष प्रतियोगिता आयोजना गर्न चाहने वडाले यो प्रतियोगिताको अन्तिम दिनमा नै घोषणा गर्नुपर्छ ।