त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा सञ्चालन हुने

Date: 2025-02-01
news-banner

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ।  

पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढ्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानस्थल गत कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुँदै आएको थियो। शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा हुनेछ। 

अहिले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्यांगर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता वृद्धिका लागि पूर्वाधार विस्तारजारी रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएको छ। त्यसैले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको हो’, उनले भने।

विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने उनले बताए। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Leave Your Comments