ललितपुर - खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।ललितपुर महानगरपालिका वडा नं.११ को मुख्य प्रायोजन तथा स्पिन इभेन्ट्स प्रा.लि को व्यवस्थापनमा "प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता हुन लागेको हो ।
ललितपुर जिल्ला टेबल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब र इखाछें स्पोट्र्सले सहयोग गर्ने भएका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख रुपैया खर्च हुने हुँदा आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य र वडा नं. ११ का अध्यक्ष अरोजकुमार खड्गीले आज पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

ललितपुर महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले प्रतियोगिताका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको र अपुग रकमको हकमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।पुरुष÷महिला सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा प्रतिस्पर्धा हुनेछ । ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा पनि राखिएको छ ।
पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
इन्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौं मेयर कप टेबलटेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघाटका कारण शाक्यको निधन भएको थियो ।