ललितपुर (गोदावरी) २४ चैत: ललितपुरको गोदावरी नगरपालिका वडा नं. १, ढुङ्गासाँघुस्थित १०८ धारा मुक्तिनाथधाममा 'मुक्तिनाथधाम भजनघर र पुस्तकालय' निर्माणका लागि विष्णु पुराण ज्ञान महायज्ञ सुरु भएको छ। महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गर्नुभयो।
उद्घाटन समारोहमा मेयर महर्जनले गोदावरी नगरपालिकालाई 'देवभूमि' भन्दै प्रत्येक वडालाई 'धाम' को रूपमा वर्णन गर्नुभयो। उहाँले नगरपालिकामा आयोजना हुने महायज्ञहरूमा उठेको रकम बराबरको सहयोग नगरपालिका प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, व्यक्तिगत रूपमा प्रत्येक महायज्ञमा नगद २५ हजार पाँचसय ५५ रुपैयाँ सहयोग गर्दै आएको जानकारी दिनुभयो। यस महायज्ञमा पनि त्यहीँ अनुरूप सहयोग गर्ने वाचा दिँदै सफलताको शुभकामना दिनुभयो।
वडा नं. १ का अध्यक्ष श्रीराज थापाले मुक्तिनाथधाम छोटो समयमा धार्मिक पर्यटक स्थलमा परिणत भएको बताउँदै आन्तरिक तथा विदेशी भक्तजनहरूको आगमन बढेको उल्लेख गर्नुभयो। मन्दिरको व्यवस्थापनका लागि वडा कार्यालय र व्यक्तिगत रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको महायज्ञका सचिव महेश्वर थापाले जानकारी दिनुभयो ।
महायज्ञका कथावाचक व्यासाचार्य भुवनगुरुले मुक्तिनाथधामको परिकल्पनाकार आफू भएको बताउँदै देवीदेवताहरूको आशीर्वादले मन्दिरका योजना पूरा हुँदै गएको जानकारी दिनुभयो। साथै, स्वर्गीय राधाकृष्ण कार्कीको योगदानलाई सम्झिँदै मन्दिर विकासका योजनाहरू सबै मिलेर पूरा गर्ने बेला आएको थापाले बताउनुभयो ।
महायज्ञका संयोजक प्रमोद ध्वज कार्कीले महायज्ञ २०७१ चैत २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो। उद्घाटन समारोहमा वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, भक्तजन, सुरक्षाकर्मी, स्वयंसेवक, कार्य समिति सदस्यहरू र स्थानीयवासीहरूको हजारौँको सङ्ख्यामा उपस्थिति रहेको थियो।
अर्चना झा रासस
तस्वीरहरु