महानगरको सम्पर्कमै छैनन् ५ सय बढी सहकारी, ९ सय खारेजी तयारी

Date: 2024-06-03
news-banner
काठमाडौं महानगरपालिकाले करिब ९ सय सहकारी खारेजीको आन्तरिक तयारी थालेको छ ।महानगरपालिकालाई कार्य क्षेत्र बनाएर दर्ता भएपछि सम्पर्कमा नभएका करिब ९ सय सहकारीलाई अन्तिम मौका दिएर खारेजीको प्रक्रियामा जाने तयारी गरिएको हो ।

काठमाडौं महानगरपालिका सहकारी विभाग अनुसार अहिले १ हजार ९ सय २३ सहकारी अभिलेखमा छन् । जसमध्ये महानगरसँग ९ सय ३८ सहकारीले मात्रै नियमित रिपोर्टिङ गर्छन् । बाँकी ९ सय ८५ मध्ये ५ सयभन्दा बढी सहकारी महानगरसँग सम्पर्कमै छैनन् ।

‘२०७५ सालदेखि ५ सयभन्दा बढी सहकारीले नियमित रिपोर्टिङ नगर्ने गरेको पाइएको छ । यीमध्ये अधिकांश सहकारी कार्यालय, सञ्चालक समिति समेत भेटिँदैन,’ महानगरको सहकारी विभाग निर्देशक बलराम त्रिपाठीले भने ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नियन्त्रण प्रणाली पालना नगरिएकाले सहकारीमा संकट आएको भन्दै आफ्नो नागरिकको सुरक्षाका लागि सहकारी अनुगमन गर्ने बताए ।

Leave Your Comments