ललितपुर ः वातावरण बिग्रदैं गएकोमा चिन्ता व्यक्त गर्दै विद्यार्थीले ललितपुर महानगर प्रमुखलाई वातावरण सुधारका उपायसहितको सुझाव दिएका छन् ।
रातो वंगला स्कूलको कक्षा १०मा अध्ययन गर्ने ६१ जना विद्यार्थीले नगर प्रमुख चिरीबाबु महर्जनलाई भेटेर वातावरण सुधार र संरक्षणका लागि सुझाव दिएका हुन् ।
उनीहरुले नदीनाला संरक्षण, ढल व्यवस्थापन, बायो फ्युल उत्पादनमा जोड दिनुपर्ने बताए । उनीहरुले भने, ‘ बागमती नदी केही सफा त भएको छ, तर, चाहे जस्तो भएको छैन, उपत्यधि भित्रका अन्य नदी नाला पनि सफा हुनुपर्छ । ’ वातावरण संरक्षण गर्नका लागि वातावरण विनाशका काम गर्नेलाई दण्ड र जरिवाना समेत गर्नेपर्ने धारणा राखे ।
वायु प्रदुषणको मुख्य कारण पेट्रोलबाट चल्ने सवारी साधन भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिनुपर्ने बताए । उनीहरुले भने, ‘ धेरै पुराना गाडीहरु चलिरहेका छन् २० वर्ष पुराना सवारी साधनलाई हटाउनुपर्छ ’ वातावरण संरक्षणका लागि प्लाष्टिक नियन्त्रण महत्वपूर्ण भएको बताए । प्लाष्टिकबाट उर्जा निकाल्न सकिने बताउँदै उनीहरुले भने, ‘ यो नयाँ प्रविधि हो, यस तर्फ पनि हामीले ध्यान दिनुपर्छ । ’ विद्यार्थीले वृक्षारोपणलाई प्रथामिकता दिनुपर्ने भनाई राख्दै दिगो विकासको परिकल्पना अनुसार अघि बढ्नुपर्ने धारणा राखे ।
महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले वातावरण संरक्षणका लागि गरेका काम बारे विद्यार्थीलाई जानकारी दिए । उनले भने, ‘हामीले महानगरमा पेट्रोलको गाडी किन्ने नीति बमोजिम काम गरेका छौँ ।’ इभी किन्ने नगरवासीलाई करमा छुट दिएको उनले बताए । महानगरले वातावरण जोगाउन वृक्षारोपणलाई प्रथामिकता दिएको जानकारी दिए । उनले भने, ‘कोभिड भन्दा अगाडि विरुवा रोपेका थियौँ, ती विरुवा अहिले हलक्क बढेका छन् । ’ पेट्रोलबाट चल्ने सवारी साधनको प्रयोगलाई प्राथमिकता नदिइ साइकलको प्रयोगलाई प्रोत्साहित गरेको जानकारी दिए ।
महानगर प्रमुखले वातावरण संरक्षणका लागि पोखरी र पार्क निर्माणलाई महत्व दिएको बताए । उनले महानगरले हालसम्म गरेको कामको बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए ।