सप्तपातालसँग सँगै अन्य दुईवटा पाखरी पुनर्निर्माणको काम द्रुत गतिमा

Date: 2024-06-07
news-banner
 ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पुनर्निर्माण दु्रत गतिमा अघि बढेको छ । 

पोखरी पुनर्निर्माणको दोस्रो चरण अन्तर्गत पोखरी खन्ने काम धमाधम भइरहेको छ ।  पहिलो चरण अन्तर्गत पोखरी वरिपरि हरियो पारदर्शी वार लगाइएको हो । तेस्रो चरण अन्तर्गत पोखरीको राजकूलोबाट पानी ल्याउने र कमलको फूल फुलाउने योजना रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । पोखरी पुनर्निर्माण गर्ने क्रममा भएका कामको निरीक्षण गर्ने क्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले भने, ‘सहरको बीचमा बन्ने यो पोखरीले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका हुन्छ । ’ तीन वटा पोखरीको क्षेत्रफल ४५ रोपनी हुनेछ । पोखरीसँगै पार्क बनाउने योजना महानगरले बनाएको छ ।  

पोखरी पुनर्भरणका लागि टिकाभैरब राजकुलोको पानी ल्याएर पोखरी पुनर्भरण गर्ने योजना अनुरुप काम भएको महानगरले बताएको छ । ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउनका चक्रपथ सडक खन्नुपर्छ । चक्रपथ सडक खन्नका लागि सडक विभागले अनुमति दिइसकेको छ । लगनखेलस्थित नमूना मच्छिन्द्र स्कूलले पोखरीको ११२ नम्बर कित्ता जग्गा लामो समयदेखि प्रयोग गर्दै आइरहेको थियो । तर, २०७६ सालमा सर्वोच्च अदालतले पोखरीको पक्ष निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो । लगनखेलका स्थानीयबासी तथा सप्तपाताल बचाउ अभियन्तता  पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१सा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्र्वोच्चको अदालत फैसलासँगै सप्तपाताल पोखरी पुनर्निर्माणको काम सुरु भएको थियो । 

महानगरका इन्जिनियर प्रदीप पौडेलले साँढे दुई वर्षभित्र पोखरी सहितको पार्क निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘ अहिले दोस्रो चरण अन्तर्गत पोखरी खन्ने  पोखरीको माटो परीक्षण गर्ने काम भइरहेको छ , पोखरीसँग बाल उद्यान, फल्चा बनाउने गरी डिजाइन गरेका छौं । ’

Leave Your Comments