गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार

Date: 2025-05-19
news-banner

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको सङ्केत गर्नुभएको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।”

यसैबीच इजरायलले दश हप्तासम्म गाजामा नाकाबन्दी लगाएपछि “भोकमरीको संकट नहोस्” भन्नका लागि “आवश्यक खाद्यान्न मात्र” प्रवेश गर्न दिने घोषणा गरेको छ ।

यो कदम इजरायली रक्षा बलको सिफारिसमा लिइएको र हमासविरुद्ध पुनः सुरु गरिएको सैन्य अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको प्रधानमन्त्री नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले गाजाभर स्थलगत सैन्य कारबाही सुरु गरेको केही घण्टापछि यो घोषणा आएको हो । नाकाबन्दीका कारण कुनै पनि खाना, इन्धन वा औषधि प्रवेश गर्न नदिइएकोमा इजरायलमाथि दबाब बढ्दै गएको छ ।

Leave Your Comments