अर्चना झा रासस
दार्चुला जिल्ला व्यास गाउँपालिकाका वडा २ स्वास्थ्य शाखाको आयोजनामा हिमाली तिन्कर गाउँमा नसर्ने रोगसम्बन्धी रोग पत्ता लगाउन अभियान सुरु गरिएको छ ।
व्यास गाउँपालिकाका स्वास्थ्य शाखाका इन्चार्ज विक्रम सिंह साहुले तिब्बत नाकासँग जोडिएका टिङ्कर गाउँमा स्वास्थ्य शिक्षा तथा उपचार अभियान सुरु गर्दा ४२ जनाको समूहमा चेकजाँच गर्दा ११ जना पुरुष र ४ जना महिलामा मधुमेह रोगी भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यास गाउँपालिकाका धेरै जसो मानिसहरू यर्सागुम्बा टिप्न लेखतिर गएकाले सम्पर्कमा आउन सकेका छैन यी बाहेक पनि छाङरू र तिन्करमा धेरै जनाले उच्च रक्तचापको औषधि सेवन गरिरहेका बताउनुभयो । यो डाटालाई मात्र मध्यनजर गरी हेर्ने हो भने यो अवस्थाले यस क्षेत्रमा भयावह अवस्था सिर्जना भएको शाहुले दाबी गर्नुहुन्छ ।
यहाँका मानिसहरूले वातावरण र स्वास्थ्यप्रतिको सजगताले गर्दा नै उच्चराक्त चापको नकारात्मक असरबाट बच्न सफल भएको तर आफै पनि उच्च रक्तचाप, सर्ने रोग र नसर्ने रोगको प्रभावबाट बच्न बानी व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको स्थानीयवासी दाना कार्कीले बताइन्।
कार्कीका अनुसार, यो एउटा गाउँको नमुना मात्रै हो।
यो तथ्याङ्क अनुसार प्रत्येक गाउँ समुदायमा स्वास्थ्य शिक्षा सम्बन्धी सबैजना मिलेर जनचेतनाको क्रियाकलाप विस्तार गर्न जरुरी देखिएको बताइन् ।