सामाजिक सुगमता छर्दै गिम्दी, कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिकता

Date: 2025-07-21
news-banner
ललितपुर । भौगोलिक हिसाबबाट ललितपुरको सबैभन्दा दुर्गम र टाढाको दुरीमा रहेको बाग्मती गाउँपालिका वडा नम्बर ७ गिम्दीमा पछिल्लो समय विभिन्न क्रियाकलाप मार्फत आफ्ना जनतालाई समेट्ने प्रयास भईरहेको छ । 

ललितपुर जिल्लाकै सुदुरदक्षिणी क्षेत्र गिम्दीमा पूर्वाधार विकास , खानेपानी , शिक्षा , कृषि , अतिरिक्त कृयाकलाप , समाजिक सुरक्षा भत्ताको सहज वितरण , जेष्ठ नागरिक सम्मान, होमस्टे विकास लगायतका कार्यक्रमले वडाबासीलाई समेट्ने प्रयास गरेको वडा अध्यक्ष होमप्रसाद बजगाइँ बताउँछन । 

शनिबार प्रेस चौतारी ललितपुरको आयोजनामा गिम्दीको नारायण डाँडामा अवस्थित वरको बोटको चौतारीमा आयोजित वडामा चौतारी कार्यक्रममा वडाका कार्यक्रम र गतिविधिको बारेमा जानकारी दिँदै वडा अध्यक्ष बजगाइँले सकारात्मक सोँचका साथ अगाडी बढेर काम गरे सफलता नै सफलता मिल्ने बताए । उनले शिक्षकको क्षमता बृद्धिका कार्यक्रमदेखि लिएर स्थानीय तहमा शैक्षिक अवलोकन भ्रमण समेत वडाले गर्दै आएको बताए । कोरा किताबी ज्ञानसँगै अतिरिक्त र ब्यवहारिक ज्ञान अहिलेको आवश्यकता भएको बताउँदै उनले वडा भित्र अतिरिक्त क्रियाकलाप समिती नै बनाएर काम गर्दै आएको बताए । 

२ वटा मावि , ५ वटा आधारभूत र २ वटा इसिडी गरी कूल ९ वटा विद्यालय यस वडामा छन् । यहाँ हाजिरीजवाफ , हिसाब दौड , भलिबल प्रतियोगिता यहाँ हुँदै आएको छ । वडाले विद्यालयहरुमा आवश्यक सामग्रीहरु पनि पुर्याउँदै आउको बजगाइँको भनाई छ । 

प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुईटेलसँग वडामा चौतारी कार्यक्रममा कुराकानी गर्दै वडा अध्यक्ष बजगाइँले कृषक दाजुभाई दिदीबहिनीका लागि गएको आर्थिक वर्षमा खेतबारी जोत्ने १४ वटा ट्याक्टर वितरण गरिएको बताए । साथै उनले आवश्यकता पहिचान गरी ३५ जनाका लागि कृषि सामग्रीसमेत वितरण गरिएको जानकारी दिए । सडककको मर्मत , कुला खोल्सा निर्माण , प्रतिक्षालय निर्माण, भ्यूटावर , चमेरे गुफा जाने बाटोको स्तर उन्नती , मगर गाउँमा होमस्टे लगायतमा पनि वडाको विशेष काम भइरहेको उनले बताए । 

अल्पसंख्यक बराम समुदायका लागि विशेष कार्यक्रम र महिलाको क्षमता अभिबृद्धिका लागि उद्घोषण कार्यक्रम भर्खरै गरिसकिएको वडा अध्यक्ष होमप्रसादले जानकारी दिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको बाग्मती गाउँपालिकाले अन्य वडामा भन्दा बजेटको सिलिङ यहाँ कम रहेकोमा उनको दुखेसो छ । अरुतीर वडामा ५० लाखको सिलिङ छ तर यहाँ जम्मा ३० लाख स्थानीय तहबाट आउने बजेट सिलिङ छ , उनले भनेर्,  १ करोड ८६ लाखको खानेपानीको बजेट केन्द्रबाट ल्याउन हामी सफल भएका छौँ । उनले अबको २ वर्षभित्र वडाभरि नै मिटरसहितको धारा सम्पन्न गरीसक्ने प्रतिवद्धता जनाए ।उनका अनुसार कटुवा, नागटार , सुवाने, खुर्मी, साउमारा, बर्केथुममा खानेपानीको समस्या समाधान हँदै गएको छ । जनताले पहिलो संझने हामीलाई हो , उनले भनेर्, त्यसैले सुख दुखको साथी वडा बन्नुपर्छ । भौगोलिक विकटता रहेको यहाँ बैंकको टोली खटाएर वडा कार्यलयमै समाजिक सुरक्षा भक्ता वितरण गरिएको छ भने महिलालाई आय आर्जनका कार्यक्रममा लगाइएको उनले बताए । 
यसैगरी जेष्ठ नागरिकको आँदखा लगायतको स्वास्थ्य जाँच गरी उपचार गराउँदै जेष्ठ नागरिकलाई आवश्यक पर्ने ओढ्ने,टोपी छाता, जुत्ता, लौरो , पानी तताउने जग वितरण पनि वडाले गरिरहेको उनले बताए ।  
सरकार गुनासोमा अलमलीनु हुँदैन, वडासम्म पुग्ने कार्यक्रम लैजानुपर्छ भन्ने मान्यताका साथ आफू अघि बढेको उनले बताए । विदेश पलायन हुने तथा राजधानी र सदरमुकाममा मात्रै केन्द्रित यूवालाई गाउँमै बस्ने वातावरण बनाउनुपर्ने , जनप्रतिनिधी पनि टुरीष्ट हैन , गाउँमै बस्ने हुनुप¥यो , पीर मर्कालाई नजिकबाट चिहाउन सक्ने बन्नुपर्ने उनको भनाई छ । 

सरकारमा बसेर आफ्नैलाई भ्रष्टाचारमा रुमलिन दिने प्रवृत्ति हटाउनुपर्ने उनको सुझाव छ । वडामा चौतारीको दोस्रो अंक बाग्मती ७ गिम्दीमा गर्न पाउँदा आफूलाई खुसी लागेको प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुईटेलले बताए । उनले भौगोलिक रुपमा विकट देखीएपनि गिम्दीले सामाजिक रुपमा सुगमता खोज्दै गरेकोमा खुसी ब्यक्त गरे । वरको चौतारोमा भएको वडा चौतारीमा ६० भन्दा बढि जेष्ठ नागरिकसहित अन्य वडावासी सहभागी थिए । 

चौतारी ललितपुरले यसअघि गएको असार १३ गते गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवाराशीमा वडामा चौतारी कार्यक्रम गरेको थियो । सो कार्यक्रममा वडा अध्यक्ष भाष्कर थापाले वडाभित्र भएका क्रियाकलापका बारेमा जानकारी दिएका थिए ।

Leave Your Comments