ललितपुर – हरेक वर्षको साउन शुक्ल पञ्चमीका दिन धापाखेलस्थित नागदहमा लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा मंगलबार लाग्ने मेलाको तयारी लगभग पुरा भएको सो वडाले जानकारी दिएको छ । मूल आयोजक रहेको वडा नम्बर २४ को संयोजकमा वडाअध्यक्ष दिनेशजंग पाण्डे रहेका छन् । हरेक वर्षको साउन शुक्ल पञ्चमीका दिन लाग्ने नागपञ्चमी मनाउने गरिन्छ ।
मेलालाई केन्द्रित गरेर सरसफाई, बाटोको खाल्डाखुल्डी पुर्ने , नागदह छेउमा रहेको नागमन्दिरलाई रंगरोगन र वरपर ध्वजा–पतकाले सिंगार्ने काम सम्पन्न भएको छ । नागपंचमी मेलालाई ब्यवस्थित पार्न नागदह भित्र रहेका जलकुम्भि झार हटाइएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार नागदहको मेलालाई केन्द्रित गरेर दहको छेउछेउका भागमा रहेका अनावश्यक झार र पात हटाउन स्थानीय यूवाहरुलाई लगाइएको छ
नागदहभित्रको जलकुम्भी जार , सिसि, बोतल , प्लाष्टिक लगायतका फोहोरको ब्यवस्थापन चक्रपथ सफाइ अभियान अन्र्तगत सिर्जनशिप सेवा प्रालि , वडास्थित महिला समूह , नगरप्रहरी , गिरी समाज लगायतले गरेको उनले बताए ।
मेलाका दिन विहान ३ बजेदेखि नै भक्तजनहरुलाई दर्शनको ब्यवस्था गरिने उनले बताए । यदि भक्तजनको चाप भएमा स्वयंसेवकलाई लाइनको ब्यवस्थापन गर्न लगाइने वडा अध्यक्ष पाण्डेले बताए र्। जाल्पा माविको स्काउट ग्रुप, महिला समूह र नगर प्रहरी लगायतले स्वयंसेवकको भूमिका निर्वाह गर्नेछन् , ’ उनले भने र्, हामीले करिब ५० हजार जति भक्तजनले अवलोकन गर्ने अनुमान गरेका छौँ ।
सवारी साधन ब्यवस्थापनका लागि सातदोवाटो ट्राफिक प्रहरी र धापाखेल प्रहरी प्रभागले जिम्मा सम्हाल्नेछन् । निशुल्क पार्किङका लागि समावेशी टोल, र जल्पा स्कुलमा ब्यवस्था मिलाइएको छ । नागपञ्चमी मेलाका लागी महानगरपालिकाको सांस्कृति र पर्यटन शाखाबाट डेढ लाख आएको वडा अध्यक्ष एवं संयोजक पाण्डेले जानकारी दिए । ‘ यसबाटै मेला अवधीका सम्पूर्ण खर्च गछौँ, ’ उनले भने , ‘ त्यो बजेट अपुग भएमा आवश्यकता अनुसार वडाबाट पैसा निकासा गछौँ ।
मेला ब्यवस्थापनका लागि अघिपछि जस्तो उपसमिती बनाएपनि विभिन्न ब्यक्ति तथा संस्थालाई पनि विभिन्न जिम्मेबारी दिइएको उनले बताए ।
स्वास्थ्य उपचारका लागि धापाखेल हेल्थपोष्ट , रेडक्रस र सुमेरु अस्पताललाई जिम्मा दिइएको वडा सदस्य उद्धव बस्नेतले जानकारी दिए ।
मन्दिर सजावट र वत्ति ब्यवस्थापनको जिम्मेबारी महेश कुमार गिरी र देवेन्द्र गिरीलाई दिइएको छ ।
मनिदरभित्र पूजाआजा र रुद्री पाठका लागि डोल प्रसाद पराजुली र शिव गिरीलाई तोकिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।
स्थानीय दिपक गिरी र राम कार्किको नेतृत्वमा बजार ब्यवस्थापनको टिम बनाइएको छ ।
नागदह मेलाका क्रममा पौडी खेलेर या स्नान गर्ने क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै विपद् तालिम लिएका पूर्व आर्मी गोर्कण प्रसाद अधिकारीको नेतृत्वमा टोली बनाइएको छ ।
आउने भक्तजनलाई प्रसाद वितरण गर्नका लागि वडा सदस्य उद्धव बस्नेतलाई जिम्मा दिइएको छ ।
मेलाका दिन महानगरका प्रमुख, उपप्रमुखसहित सबै वडाका वडा अध्यक्ष र सदस्यहरु , छिमेकी नगरपालिकाका प्रमुखु उपप्रमुख तथा संघीय सांसदहरु , प्रदेश सांसदहरु लगायत जिल्ला भित्रका सरकारी कार्यलय र सुरक्षा निकायका प्रमुख र अन्य प्रतिनिधीलाई पनि डाकिएको वडा सदस्य हरिकृष्ण मर्हजनले जानकारी दिए । अतिथी सत्कारका लागि वडाका महिला सदस्य र कर्मचारीलाई जिम्मेवारी दिइएको उनले बताए । उनका अनुसार स्व पूजारी राम गिरीको घरबाट नाग दहमा पीत्तलको नागको प्रतिमा नागदहमा ल्याइन्छ र त्यसलाइ पूजा गरिन्छ । राती भएपछि फेरी बाजा गाजासहितको टोलीले फेरी स्व गिरीकै घरमा लगेर राखीदिन्छन् ।
नाग भगवानलाई रिझाए राम्रो हुने जनविश्वास अनुसार त्यहाँ बासुकी नागको पुजा आजा गरिने गरिएको छ । नाग पन्चमीमा नागदहमा आइ नागको दर्शनसँगै स्थान गरे घरमा सुख शान्ति मिल्ने , अन्नवाली सप्रने र छाला सम्बन्धी रोग निको हुने जनविवास छ , वडा अध्यक्ष पाण्डेले भने ।
मेला भर्न उपत्यका र त्यस आसपासका जिल्लाबाट भक्तजनहरु आइ दहमा स्नान गर्नुका साथै विभिन्न भाकलहरु राखी नाग मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन छ ।
मेलामा धापाखेल , झरुवाराशी , चापागाँउ , ठैव , हरिसिद्धी , लुभु , लेले , गोदावरी , छम्पि , सातदोबाटो लगायतबाट भक्तजनहर आउने गरेका छन् ।
५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह नागदहको गहिराई समग्र २५ फिट भएपनि वीच भागमा ४१ फिट रहेको छ । दहको चौडाई ९ सय ३७ मिटर रहेको समितीले जनाएको छ ।
परापुर्वकालमा तालको रुपमा रहेको काठमाडौँको पानी चोभारका गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहको आफ्नै छुट्टै महत्व रहेको छ ।
आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेको बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक बिधिबाट छेदन गरी पानी बाहिर पठाएको किम्बदन्ती छ ।
त्यसरी पानी बाहिर पठाउँदा नाग राजा पनि बाहिर जाने भएकोले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह भएको इतिहास सम्बन्धी पुस्तकहरुमा उल्लेख छ ।
नागदह धार्मिक एवं सांस्कृतिक क्षेत्रका साथै राष्ट्रिय सिमसार क्षेत्र समेत रहेकाले यहाँ विभिन्न स्थानबाट आउने आगन्तुक पन्छिको समेत बासस्थान रहेको छ।