ललितपुर वडा नं. ६ मा बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

Date: 2025-12-06
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ६ स्वास्थ्य कार्यान्वयन समितिले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर वडा कार्यालय परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीयवासीलाई घरमै नजिकबाट प्रभावकारी र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस शिविरमा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

शिविरमा विशेष रूपमा पाठेघरको मुखको क्यान्सर (VIA Test), दृष्टि परीक्षण (Comprehensive Eye Screening), मोतियाबिन्दु छनौट, चश्मा जाँच, जनरल फिजिसियन परामर्श तथा होमियोप्याथिक सेवा जस्ता सुविधा उपलब्ध गराइयो। यी सेवाहरूका कारण धेरै स्थानीयवासीले आफ्नो स्वास्थ्य अवस्था थाहा पाउने र आवश्यक सल्लाह पाउने अवसर प्राप्त गरे।

ललितपुर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउन वडाले विभिन्न संघ–संस्थासँग मिलेर नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको बताउनुभयो। उहाँका अनुसार वडामा दैनिक रूपमा ल्याब सेवा सञ्चालन भइरहेको छ। साथै, आइतबारदेखि शुक्रबारसम्म निःशुल्क डाक्टर परामर्श लिन सकिने जानकारी पनि उहाँले दिनुभयो। यसले वडावासीलाई सस्तो र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न निकै सहयोग पुगेको छ।

उक्त स्वास्थ्य शिविरमा नेपाल आइकेयर फाउन्डेशन, तिलगंगा आँखा अस्पताल, Australian Aid र The Fred Hollows Foundation ले प्राविधिक तथा सहकार्य गरेका थिए। यस्ता प्रतिष्ठित संस्थाहरूको सहभागिताले शिविर अझै गुणस्तरीय र प्रभावकारी बनेको आयोजकहरूको भनाइ छ।

कार्यक्रमको मुख्य आयोजना ललितपुर महानगरपालिका वडा नं. ६ कार्यालय, कन्हिबहाल तथा वडा स्वास्थ्य कार्यान्वयन समितिले संयुक्त रूपमा गरेका थिए। स्थानीयवासीको उत्साहजनक सहभागिताका कारण स्वास्थ्य शिविर अत्यन्तै सफल र फलदायी बनेको आयोजक संस्थाले जनाएको छ। धेरै मानिसहरूले समयमै स्वास्थ्य परीक्षण गराउन पाएको र आवश्यक परामर्श पाएकोले समुदायस्तरमा यस कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताइएको छ।

Leave Your Comments