ललितपुर - ललितपुर महानगरपालिकाको उद्योग शाखाले महानगरपालिकाबाट विभिन्न सीप तथा प्रविधिसम्बन्धी तालिम प्राप्त उद्यमीहरूले उत्पादन गर्दै आएका सामग्रीको अनुगमन तथा निरीक्षण गरेको छ।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा महानगरपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेका उद्यम तथा उत्पादन केन्द्रहरूको स्थलगत अनुगमन गरिएको हो। अनुगमनका क्रममा उद्यमीहरूले उत्पादन गरिरहेका सामग्री, उत्पादनको अवस्था, बजार व्यवस्थापन तथा उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिइएको थियो।
अनुगमन टोलीले वडा नं. १३ स्थित नारी जागृत लघु उद्यमी समूहले सञ्चालन गरेको उत्पादन केन्द्र तथा खोकोनामा रहेको कृषि फार्मलगायत विभिन्न स्थानमा पुगेर उद्यमीका गतिविधिको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा उपप्रमुख शाक्य बज्राचार्यले महानगरपालिकाका विभिन्न वडामा महिला समूह तथा अन्य उद्यमीहरूले स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोग गरी विभिन्न सामग्री उत्पादन गर्दै बजारसम्म पुर्याइरहेको बताउनुभयो। उद्यमीलाई आवश्यक प्राविधिक ज्ञान, सीप तथा प्रविधिमा महानगरपालिकाले निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ।
कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा सक्रिय विभिन्न समूहलाई महानगरपालिकाले तालिम, प्रविधि तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाइएको छ। अनुगमनमार्फत उद्यमीहरूको प्रगति, समस्या र आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझेर थप सहयोगका लागि पहल गरिने महानगरपालिकाले जनाएको छ।
उपप्रमुख शाक्य बज्राचार्यले ललितपुरमै उत्पादन भएका स्थानीय तथा घरेलु सामग्रीको प्रयोगलाई प्राथमिकता दिन नगरवासीलाई आग्रहसमेत गर्नुभयो। स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनले उद्यमीलाई प्रोत्साहन गर्नुका साथै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने उहाँको भनाइ छ।
तस्बिरहरु