ललितपुर - ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोगमा रञ्जितकार समाजको आयोजनामा परम्परागत दाफा भजन तथा लोकबाजा सम्बन्धी दुईमहिने एडभान्स प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले संगीत मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले ऊर्जा, जोश र जागर बढाउन संगीतले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै मानसिक स्वास्थ्यका लागि समेत बाजागाजा तथा संगीत निकै उपयोगी हुने धारणा व्यक्त गरिन्।
उपमेयर शाक्य बज्राचार्यले परम्परागत दाफा भजन तथा लोकबाजा नेपालको मौलिक कला, संस्कृति र पहिचानसँग जोडिएको उल्लेख गर्दै यस्ता प्रशिक्षणले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण योगदान पुग्ने बताइन्।
उनले लोप हुँदै गएका मौलिक बाजा, दाफा भजन तथा सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरणका लागि महानगरपालिकाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिन्।
स्थानीय मौलिक कला, संगीत र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा यसको ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रशिक्षणले ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
तस्वीरहरु