समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Date: 2026-08-26
news-banner
ललितपुर — ललितपुर महानगरपालिका सामाजिक विकास महाशाखा, जनस्वास्थ्य शाखाको आयोजना तथा द प्यानडेमिक फण्ड, युनिसेफ र पीएचआरडी नेपालको सहकार्यमा ललितपुर महानगरपालिका वडा नं. २९ मा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी समुदायका सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

समुदायमा समय–समयमा अनपेक्षित तथा असामान्य स्वास्थ्यसम्बन्धी घटना वा विभिन्न रोगहरू देखिन सक्ने र त्यस्ता घटनाले ठूलो संख्यामा मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भएकाले समयमै सूचना संकलन, पहिचान तथा सम्बन्धित निकायसम्म जानकारी पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा समुदायमा आधारित रोग निगरानी प्रणालीको आवश्यकता, रोग तथा स्वास्थ्यसम्बन्धी असामान्य घटना समयमै पहिचान गर्दा रोगको रोकथाम तथा नियन्त्रणका लागि प्राप्त हुने अवसर, रोग तथा लक्षणसम्बन्धी सूचनाका स्रोतलगायतका विषयमा जानकारी दिइएको थियो। समुदायमा कुनै असामान्य स्वास्थ्य घटना वा रोगका लक्षण देखिएमा त्यसबारे समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्नेमा पनि जोड दिइएको थियो।

त्यस्तै, स्वास्थ्यसम्बन्धी समस्या तथा रोगका लक्षणबारे जानकारी गराउन हेल्लो स्वास्थ्य १११५ कल सेन्टरमा फोन गर्न सकिने जानकारीसमेत कार्यक्रममा दिइएको थियो। समुदायमा देखिने स्वास्थ्यसम्बन्धी घटना तथा रोगको प्रारम्भिक सूचना समयमै प्राप्त हुन सकेमा सम्भावित जोखिम न्यूनीकरण तथा रोग फैलिन नदिन आवश्यक कदम चाल्न सहज हुने बताइएको थियो।

कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा समुदायका अन्य सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बताइएको थियो। समुदायमै रहेर नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले स्वास्थ्यसम्बन्धी असामान्य घटना, रोगका लक्षण तथा सम्भावित जोखिमबारे समयमै जानकारी संकलन गरी सम्बन्धित स्वास्थ्य निकायसम्म पुर्‍याउन उनीहरूको योगदान महत्वपूर्ण हुने जनाइएको थियो।

ललितपुर महानगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको र आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्‍याउने क्रममा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउँदै आएको जानकारी कार्यक्रममा गराइएको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले १२ महिनाको अवधिमा फरक–फरक हावापानीका कारण मानिसमा विभिन्न प्रकारका रोगहरू देखिनु सामान्यजस्तै भइरहेको बताउनुभयो। मौसम तथा वातावरणमा आउने परिवर्तनसँगै देखिन सक्ने स्वास्थ्यसम्बन्धी समस्यालाई समयमै पहिचान गरी त्यसको जोखिम तथा प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

वडा अध्यक्ष महर्जनले समुदायमा देखिने स्वास्थ्यसम्बन्धी समस्या तथा रोगका लक्षणलाई सामान्य रूपमा मात्र नलिई समयमै जानकारी गराउने र आवश्यक सावधानी अपनाउने वातावरण बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रमले समुदायस्तरमै स्वास्थ्यसम्बन्धी सम्भावित जोखिमको पहिचान, सूचना संकलन तथा समयमै सम्बन्धित निकायसम्म जानकारी पुर्‍याउने प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिरहरु





Leave Your Comments