ललितपुर वडा नं. ५ मा लैङ्गिक हिंसा रोकथामका लागि प्रभात फेरी कार्यक्रम सम्पन्न

Date: 2025-12-07
news-banner
ललितपुर — ललितपुर महानगरपालिका वडा नं. ५ ले लैङ्गिक हिंसा रोकथाम तथा जनचेतना अभिवृद्धि गर्न ‘प्रभात फेरी कार्यक्रम’ सञ्चालन गरेको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुख्य नारासहित सुरु गरिएको यो कार्यक्रम २०२५ नोभेम्बर २५ देखि डिसेम्बर १० (२०७८ मंसिर ९ देखि २४) सम्म निरन्तर चल्नेछ।

यस १६ दिने अभियानको उद्देश्य समुदायलाई लैङ्गिक हिंसाका विभिन्न रूपबारे सचेत बनाउनु, हिंसापीडितको आवाजलाई समर्थन गर्नु तथा हिंसामुक्त समाज निर्माणमा सबैलाई एकत्रित गराउनु रहेको छ।मंसिर २१ गते आइतबार आयोजित प्रभात फेरी कार्यक्रममा स्थानीय बासिन्दा, महिला समूहका सदस्य, विद्यार्थी, सामाजिक अभियन्ता तथा वडा जनप्रतिनिधिहरूको उत्साहजनक उपस्थिति थियो। सहभागीहरूले “आवाज उठाऔँ, न्याय ल्याऔँ”, “हामी सबैको संकल्प—लैङ्गिक हिंसामुक्त समाज”, “समता, सम्मान र सुरक्षाका लागि आफैँबाट पहल गरौँ”, “लैङ्गिक हिंसा होइन, सम्मान हाम्रो पहिचान” तथा “१६ दिने अभियान—हिंसामुक्त समाजको अभियान” जस्ता सन्देशसहित सडकमा जनचेतना फैलाए।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले हिंसा अन्त्य परिवारबाट नै सुरु हुनुपर्ने बताइन्। उनका अनुसार, “हाम्रो मन स्थिर राख्न सके, बच्चाहरूको हेरचाह र खानपान व्यवस्थापन राम्रो गरे, र घरभित्र समस्या उत्पन्न भए तुरुन्तै समाधान खोज्यो भने हिंसालाई धेरै हदसम्म रोक्न सकिन्छ।” उनले महिलामात्र नभई सबैले परस्पर सम्मान, सहनशीलता र सकारात्मक सोच राख्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले वडा कार्यालयले निरन्तर रूपमा लैङ्गिक हिंसा रोकथाम अभियान सञ्चालन गर्दै आएको बताउँदै, “समाजले हिंसा सहने होइन, रोक्ने बानी बसाल्नुपर्छ। प्रत्येक व्यक्तिले सचेत भइ आफ्नो परिवार र समुदायमा सकारात्मक वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ,” भने।

वडा सदस्य तथा महिला प्रतिनिधि शोभा देवी प्रदान श्रेष्ठले लैङ्गिक हिंसा महिलामात्र होइन, पुरुष पनि पीडित बन्न सक्ने विषय समाजले बुझ्नुपर्ने बताइन्। उनले हिंसाबाट पीडितले आवाज उठाउन डराउनु नपर्ने र समुदायले उनीहरूलाई साथ–सहयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिइन्।

कार्यक्रमले स्थानीय तहमा लैङ्गिक हिंसा अन्त्यका लागि सामुदायिक एकता, सहकार्य र सक्रियताले महत्वपूर्ण भूमिका खेल्ने सन्देश दिएको छ। सहभागीहरूले आगामी दिनमा घर–परिवार, विद्यालय, कार्यस्थल तथा समाज सबै क्षेत्रमा लैङ्गिक समानता र सुरक्षित वातावरण निर्माण गर्न निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो अभियानले समुदायमा सकारात्मक चेतना स्थापित गर्दै हिंसामुक्त समाज निर्माणतर्फ एक महत्वपूर्ण कदम अघि बढाएको वडा कार्यालयले जनाएको छ।

Leave Your Comments