ललितपुर - ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिले ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ जात्राको पहिलो दिन हुने रथ तान्ने कार्यक्रम (तनाई) सम्बन्धमा विस्तृत छलफल गरेको छ। उक्त छलफल कार्यक्रममा जात्राको व्यवस्थापन, सुरक्षा, तथा सांस्कृतिक परम्परालाई व्यवस्थित ढंगले सञ्चालन गर्ने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, उप–प्रमुख मञ्जली शाक्य बज्राचार्य, उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठ लगायत समितिका पदाधिकारीहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, परम्परागत रूपमा जात्रासँग आबद्ध ज्यापू समाजका प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
छलफलका क्रममा नगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ जात्रा ललितपुरको पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबै पक्षको समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले जात्रालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन महानगरपालिका प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो।
समितिका संयोजक विकासमान श्रेष्ठले पहिलो दिनको रथ तान्ने कार्यक्रम वैशाख ८ गते हुने जानकारी दिँदै सो दिनको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो।
कार्यक्रममा सहभागी ज्यापू समाजका प्रतिनिधिहरूले जात्रालाई सफल बनाउन आफूहरू सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
रातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा लामो र महत्वपूर्ण जात्रामध्ये एक मानिन्छ। प्रत्येक वर्ष विधिपूर्वक मनाइने यस जात्राले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस वर्षको रथ जात्राको पहिलो दिन अर्थात् वैशाख ८ गते रथ तान्ने कार्यक्रम सम्पन्न गरिने निर्णयसँगै महानगरपालिका र सरोकारवाला निकायहरूले आवश्यक तयारी तीव्र पारेका छन्।