नेपाल टुरिजम वेलफेयर सोसाइटीबीच सहकार्य, अन्तर्राष्ट्रिय समाज गौरव सम्मान सम्पन्न

Date: 2026-08-03
news-banner
काठमाडौं— जिल्ला होटल व्यवसाय सङ्घ काठमाडौं र इण्डो नेपाल टुरिजम वेलफेयर सोसाइटी (भारत) को संयुक्त सहकार्यमा अन्तर्राष्ट्रिय समाज गौरव सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै जिल्ला होटल व्यवसाय सङ्घ काठमाडौंका अध्यक्ष सुरेश बराल ले सङ्घको निमन्त्रणामा भारतका विभिन्न सञ्चारमाध्यमसँग आबद्ध १५ जना पत्रकार नेपाल भ्रमणमा आएको जानकारी दिनुभयो। उहाँले नेपाल–भारतबीच पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन दुवै संस्थाबीच सहकार्य गरिएको बताउनुभयो। अध्यक्ष बरालका अनुसार भारतीय सञ्चारमाध्यममार्फत नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्दै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने उद्देश्य राखिएको छ। विशेषगरी भारतका विभिन्न राज्य तथा क्षेत्रबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने योजनाअनुसार प्रचारात्मक गतिविधि सञ्चालन भइरहेको उहाँको भनाइ छ।

उहाँले नेपालका धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अझै पर्याप्त रूपमा अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन नसकेको उल्लेख गर्दै ती गन्तव्यहरूको प्रचारप्रसारमा भारतीय सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। दुवै संस्थाको सहकार्यले पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुका साथै नेपाल–भारतबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल भ्रमणमा रहेका भारतीय पत्रकार तथा पर्यटनसँग सम्बन्धित प्रतिनिधिहरूलाई अन्तर्राष्ट्रिय समाज गौरव सम्मान प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले नेपाल–भारतबीच पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले पर्यटकहरूको बसाइलाई सहज, सुरक्षित र गुणस्तरीय बनाउने वातावरण निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, ओझेलमा परेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

आयोजकका अनुसार आगामी दिनमा पनि नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा दुई देशबीचको आपसी सहकार्यलाई अझ विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Leave Your Comments