पशुपतिनाथ क्षेत्रमा भव्य धार्मिक महा–महोत्सव, हजारौँ भक्तजनको उत्साहजनक सहभागिता

Date: 2026-08-08
news-banner
अर्चना झा 

काठमाडौं, साउन २३ गते : काठमाडौंस्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा श्री पशुपतिनाथ धार्मिक महा महोत्सव २०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ। साउन १ गतेदेखि सुरु भएको महोत्सव साउन ३१ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। देश–विदेशबाट आउने श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिताले पशुपति क्षेत्र धार्मिक आस्था, भक्ति र आध्यात्मिक वातावरणले भरिएको छ।

महोत्सवका संकल्पकर्ता राजानन्द माण्डव्यका अनुसार नेपालमै ‘कैलाश धाम’ निर्माण गर्ने दीर्घकालीन गुरुयोजनालाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको विस्तार गर्दै वैदिक सनातन सभ्यताको संरक्षण र प्रवर्द्धनमा महोत्सव केन्द्रित रहेको उहाँले बताउनुभयो।


गत वर्ष पनि पशुपति क्षेत्रमा एक महिनासम्म ‘हिमवतखण्ड नेपाल माहात्म्य’ कार्यक्रम सञ्चालन गरी हजारौं भक्तजनसँग जोडिनुभएका माण्डव्यले यस वर्ष राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा आफ्नै संकल्प र पहलमा यो महोत्सव सञ्चालन गरिरहनुभएको हो।

महोत्सवअन्तर्गत पशुपति माहात्म्य प्रवचन, दैनिक धार्मिक प्रवचन ,भजन–कीर्तन,गौ–संरक्षण अभियान, चौंसठी ज्योतिर्लिङ्गको नित्य पूजन लगायतका विविध धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै नेपालमै कैलाश धाम निर्माणका लागि जनचेतना अभिवृद्धि गर्ने अभियानलाई पनि विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य धार्मिक आस्था जागरण, धर्म–संस्कृतिको संरक्षण, वैदिक सनातन सभ्यताको प्रवर्द्धन तथा नेपालको धार्मिक पर्यटनलाई थप सशक्त बनाउनु रहेको छ।


महोत्सवमा सहभागी भई धार्मिक पुण्य लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई हार्दिक आग्रह गरेको छ। साउन महिनाभर सञ्चालन हुने यस धार्मिक महोत्सवले पशुपति क्षेत्रलाई आध्यात्मिक ऊर्जा र भक्तिमय वातावरणले थप जीवन्त बनाएको छ।



Leave Your Comments