ललितपुर–५ मा निःशुल्क स्वास्थ्य शिविर, प्रत्येक शनिबार सुगर र क्रियाटिनिन परीक्षण हुने

Date: 2026-08-01
news-banner
ललितपुर - नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडको आयोजना, ललितपुर महानगरपालिका वडा नं. ५ को वडा स्वास्थ्य कार्यान्वयन समितिको समन्वय तथा महालक्ष्मी महिला समूहको सहकार्यमा शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा ल्याब परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

वडावासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महालक्ष्मी मन्दिर परिसरमा बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको शिविरमा निःशुल्क सुगर  (Sugar) र क्रियाटिनिन (Creatinine)  परीक्षण गरिएको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले ‘स्वच्छ, सफा, हराभरा र सुरक्षित वडा’ बनाउने अभियानअन्तर्गत नेशनल प्याथ ल्याबसँग सहकार्य गरी वडा क्षेत्रका महिला समूह, टोल विकास संस्था तथा अन्य सामाजिक संस्थासँग समन्वय गरेर प्रत्येक शनिबार निःशुल्क सुगर र क्रियाटिनिन परीक्षण सञ्चालन गरिने जानकारी दिनुभयो।

नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, ललितपुर शाखाका प्रबन्धक आकाश बस्नेतले वडा नं. ५ का स्थानीय बासिन्दाका लागि सुगर र क्रियाटिनिन परीक्षण निःशुल्क गरिएको बताउँदै अन्य प्रयोगशाला परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो।

त्यसैगरी, महालक्ष्मी महिला समूहकी अध्यक्ष प्रमिला रिजालले समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि विभिन्न संघसंस्था तथा निकायसँग सहकार्य गर्दै यस्ता स्वास्थ्य परीक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो।

स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको उक्त स्वास्थ्य शिविरबाट समयमै स्वास्थ्य परीक्षण गरी रोगको पहिचान तथा रोकथाममा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।





Leave Your Comments