ललितपुर महानगरपालिका वडास्तरीय चौथो बाल क्लब रनिङ्ग शिल्ड हाजिरजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। ललितपुर महानगरपालिका वडा नं. ५ तथा वडा स्तरीय बाल क्लब र पलेस्वां नेपालको प्राविधिक सहयोगमा लगनखेलस्थित क्याम्पियन स्कुलमा कार्यक्रम आयोजना गरिएको हो।
बालबालिकाहरूको चौतर्फी विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा वडा स्तरीय आपसी मित्रता र सहकार्य सुदृढ गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा महानगरका विभिन्न वडा बाल क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो।प्रतियोगिताको नतिजा अनुसार प्रथम स्थान ललितपुर महानगरपालिका वडा नं. २१, दोस्रो वडा नं. ५, तेस्रो वडा नं. २२ र चौथो स्थान वडा नं. ३ ले हासिल गरेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जनले यस्ता हाजिरजवाफ प्रतियोगिता नियमित रूपमा, विशेषगरी महिनामा एकपटक सञ्चालन गरिएमा बालबालिकाको शैक्षिक विकासमा उल्लेखनीय टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।
यसैगरी, ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले औपचारिक शिक्षासँगै सामान्य ज्ञान पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय इतिहास र पहिचान बुझ्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत समुदाय विकास शाखाकी प्रमुख सरिता महर्जनले महानगरपालिकाले विगत ३२ वर्षदेखि बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
त्यसैगरी, वडा नं. ५ की महिला सदस्य शोभादेवी श्रेष्ठले बालबालिकालाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा सशक्त बनाउन वडा स्तरमा निरन्तर विभिन्न गतिविधि सञ्चालन भइरहेको बताउनुभयो।
कार्यक्रममा पलेस्वां नेपालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेको थियो। साथै बालबालिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए।