वडा नं. ५ मा प्राथमिक उपचार अभिमुखीकरण तथा प्राथमिक उपचार किट वितरण

Date: 2026-06-17
news-banner
ललितपुर, असार ३ गते। विपद् तथा आकस्मिक स्वास्थ्य समस्याको समयमा तत्काल आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले ललितपुर महानगरपालिका वडा नं. ५ ले प्राथमिक उपचार अभिमुखीकरण तथा प्राथमिक उपचार किट वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम वडा कार्यालयको आयोजनामा तथा Innovative Klean and Green Solution Pvt. Ltd. को प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

कार्यक्रममा प्राथमिक उपचारका आधारभूत सिद्धान्त, दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याको अवस्थामा अपनाउनुपर्ने सावधानी, घाइते व्यक्तिलाई सुरक्षित रूपमा सहयोग गर्ने तरिका, रक्तश्राव नियन्त्रण, हड्डी भाँचिने, बेहोस हुने लगायतका विभिन्न अवस्थाको प्रारम्भिक व्यवस्थापनबारे जानकारी प्रदान गरिएको थियो।विपद् तथा दुर्घटना पूर्वसूचना दिएर नआउने भएकाले हरेक नागरिक प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञानले सुसज्जित हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो। विपद्को समयमा स्वास्थ्यकर्मी वा अस्पताल पुग्न ढिलाइ हुन सक्ने भएकाले प्रारम्भिक चरणमा गरिएको सही उपचारले मानिसको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। साथै, समुदायमा सुरक्षित र सचेत वातावरण निर्माण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

अभिमुखीकरणपछि सहभागीहरूलाई प्राथमिक उपचार किटसमेत वितरण गरिएको थियो। वितरण गरिएको किटमा आकस्मिक अवस्थामा आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्रीहरू समावेश गरिएका छन्। यस्ता सामग्रीले सामान्य चोटपटक तथा स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विपद् कहिले, कहाँ र कुन अवस्थामा आइपर्छ भन्ने कुरा कसैले अनुमान गर्न सक्दैन। त्यसैले समुदायका प्रत्येक नागरिकलाई प्राथमिक उपचारसम्बन्धी ज्ञान र आवश्यक सामग्रीको पहुँच उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले सुरक्षित, सक्षम र विपद् प्रतिरोधी समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।



Leave Your Comments