हरिशयनी एकादशीको अवसरमा सौगलमा विशेष पूजा तथा भजन कार्यक्रम सम्पन्न

Date: 2026-07-25
news-banner
ललितपुर — हरिशयनी एकादशीको पावन अवसरमा लूज: ल्याय्‌म्ह पुचः को आयोजनामा ललितपुर महानगरपालिका–६, ८ र १२ नं. वडाको संगमस्थल सौगलस्थित शिवालय नारायण मन्दिर तथा वरपर रहेका मठ–मन्दिरमा विशेष पूजा–आराधना तथा भजन कार्यक्रम सम्पन्न भएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रममा स्थानीय युवा, बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले शिवालय नारायण मन्दिरमा विधिपूर्वक पूजा–आराधना गरेपछि भजन–कीर्तनमार्फत हरिशयनी एकादशीको धार्मिक महत्वलाई स्मरण गरेका थिए।

कार्यक्रमका ललितपुर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रूपेन्द्रराज शाक्यले  लूज: ल्याय्‌म्ह पुचः ले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता आध्यात्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले वर्तमान समयमा धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै वडा कार्यालयले पनि विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

त्यसैगरी, लूज: ल्याय्‌म्ह पुचः का सह–सचिव प्रजुसी श्रेष्ठले युवापुस्तामा संस्कृति संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले मौलिक संस्कृति, परम्परा तथा धार्मिक सम्पदाको संरक्षणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ पुस्ताले आफ्नो पहिचान जोगाउन अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।

सौगल टोल विकास समितिका कार्यवाहक सभापति गणेश विष्ट रन्जितले स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा पनि यस्ता धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमबारे जानकारी दिँदै लूज: ल्याय्‌म्ह पुचः का अध्यक्ष प्रणम श्री श्रेष्ठले हरिशयनी एकादशीको अवसरमा धार्मिक आस्थासँगै स्थानीय मठ–मन्दिर, परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले युवापुस्तालाई धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी गराउँदै समुदायमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र सांस्कृतिक चेतनाको विकास गराउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समुदायबीचको एकता, सांस्कृतिक संरक्षण र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।



Leave Your Comments