नेपाल खड्गी सेवा समितिद्वारा रक्तदान शिविर सम्पन्न

Date: 2026-07-25
news-banner

काठमाडौं, साउन ९ — नेपाल खड्गी सेवा समितिको आयोजनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाको ६१औँ स्थापना दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित रक्तदान शिविर सम्पन्न भएको छ।


मानव जीवन बचाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा विभिन्न उमेर समूहका युवायुवती, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा स्वेच्छिक रूपमा रक्तदान गर्दै सहभागीहरूले रगतको अभाव न्यूनीकरण गर्न आफ्नो योगदान दिएका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल खड्गी सेवा केन्द्रका अध्यक्ष अन्जिता खड्गीले समाजसेवाका क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता बढ्दै गएको बताउनुभयो।  नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाको प्राविधिक टोलीले रक्त सङ्कलन गरेको थियो। आयोजकका अनुसार शिविरबाट सङ्कलित रगत विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको आवश्यकताअनुसार उपयोग गरिनेछ। रक्तदान शिविरमा सहभागीहरूले नियमित रक्तदानमार्फत मानव जीवन बचाउने अभियानमा सबै नागरिकलाई जोडिन आग्रह गरेका थिए। आयोजकले यस्ता कार्यक्रमले रक्तदानप्रति सकारात्मक सोच विकास हुनुका साथै समाजमा मानवीय सेवाको भावना थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।





Leave Your Comments