क्योकुशिन करातेमा ललितपुरका खेलाडी चम्किए, निरोज नगरकोटी उत्कृष्ट खेलाडी
Date: 2026-06-19
हेटौंडामा असार ३ गतेदेखि सञ्चालन भएको तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्योकुशिन कराते फुल कन्ट्याक्ट विधामा ललितपुर जिल्लाले उत्कृष्ट प्रदर्शन गरेको छ।
प्रतियोगिताको पुरुष ४० केजी तौल समूहमा सुब्रेश गोले तामाङ प्रथम हुन सफल भए। त्यस्तै पुरुष ६५ केजी तौल समूहमा सागर तामाङले धादिङका प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण पदक जिते।महिला ४० केजी तौल समूहमा भावना नगरकोटी, ४५ केजीमा दिलमाया श्रेष्ठ र ५५ केजीमा प्रसिका नापितले उत्कृष्ट खेल प्रदर्शन गर्दै रजत पदक हात पारेका छन्।
ललितपुर टोलीका प्रशिक्षक (टिम कोच) गुरु ज्ञानी रत्न शाक्य र रामहरि खड्काका अनुसार खेलाडीहरूले अनुशासित र सशक्त प्रदर्शन गर्दै जिल्लालाई उत्कृष्ट नतिजा दिलाएका हुन्। प्रतियोगितामा ललितपुर टोलीको व्यवस्थापन टिम व्यवस्थापक रमेश तामाङले सम्हालेका थिए।
प्रतियोगिताभर सहभागी १३ जिल्लामध्ये पुरुषतर्फ ललितपुरका निरोज नगरकोटी उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले उत्कृष्ट खेल प्रदर्शन र अनुशासनका आधारमा नगद रु. २० हजारसहित सम्मान प्राप्त गरेका छन्।
प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले विजेता खेलाडीहरूलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।