ललितपुर महानगरद्वारा ए, बी र सी डिभिजनका फुटबल क्लबहरूलाई नगद सम्मान
Date: 2026-06-30
ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका ए, बी र सी डिभिजनका फुटबल क्लबहरूलाई सोमबार एक विशेष समारोहका बीच नगद सम्मान गरेको छ।
खेलकुद क्षेत्रको विकास, खेलाडी तथा क्लबहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा महानगरपालिकाले ए डिभिजनका चार क्लब— चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, फ्रेन्ड्स क्लब (कुपण्डोल) र जावलाखेल युथ क्लबलाई जनही ४ लाख रुपैयाँ प्रदान गरेको छ।
त्यसैगरी, बी डिभिजनका खुमलटार युवा क्लब, ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लबलाई जनही ३ लाख रुपैयाँ तथा सी डिभिजनका खालीबारी फुटबल क्लब, झम्सिखेल युथ क्लब, पुल्चोक स्पोर्ट्स क्लब र सानेपा क्लबलाई जनही २ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
सम्मान समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले क्लबका प्रतिनिधिहरूलाई नगद पुरस्कारको चेक हस्तान्तरण गर्दै ललितपुर नेपाली फुटबलको उर्वर भूमि रहेको उल्लेख गरे। उनले खेलकुदको विकास, प्रतिभाको संरक्षण तथा युवा खेलाडीलाई प्रोत्साहन गर्न महानगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी क्लबका प्रतिनिधिहरूले महानगरपालिकाले गरेको सम्मानले खेलाडी र क्लबहरूलाई थप ऊर्जा तथा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।