ललितपुर महानगरपालिका वडा नं. १० को आयोजनामा कुपण्डोलस्थित बागमती नदी किनारमा शनिबारदेखि ‘मनसुन हाट–बजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
‘स्थानीय बजार, हाम्रो पहिचान’ भन्ने नारासहित सुरु गरिएको हाट–बजारले स्थानीय उद्यमी, व्यवसायी तथा समुदायले उत्पादन गरेका वस्तुको प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ । हाट–बजारमा मस्म, नेवारी परिकार, बर्गर, पिज्जा, फ्रेन्च फ्राइजलगायतका विभिन्न खानाका परिकारका साथै हस्तकला, ताजा तरकारी, फलफूल, कपडा, जुत्ता तथा अन्य स्थानीय उत्पादन बिक्रीका लागि राखिएका छन्। आगन्तुकको आकर्षण बढाउन सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमको समेत व्यवस्था गरिएको छ।
आयोजकका अनुसार हरेक शनिबार बिहान ८ बजेदेखि सञ्चालन हुने यस हाट–बजारको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, साना तथा घरेलु व्यवसायीलाई बिक्रीको अवसर उपलब्ध गराउने र बागमती नदी किनारलाई थप आकर्षक सार्वजनिक स्थलका रूपमा विकास गर्नु रहेको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन, समुदायको आर्थिक गतिविधिमा वृद्धि तथा स्थानीय पर्यटनलाई समेत टेवा पुग्ने अपेक्षासहित सुरु गरिएको ‘मनसुन हाट–बजार’ले कुपण्डोल क्षेत्रलाई थप जीवन्त र आकर्षक बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।