ललितपुर–५ मा कम्पोष्ट मल र कौसी खेतीसम्बन्धी एकदिने तालिम

Date: 2026-07-06
news-banner
ललितपुर – ललितपुर महानगरपालिका वडा नं. ५ थासीखेल महिला समूहको आयोजनामा एक दिने कौसी खेती तथा कम्पोष्ट मल बनाउने तालिम सम्पन्न भएको छ। घरायसी फोहोरको उचित व्यवस्थापन गर्दै वातावरण संरक्षण, जैविक मल उत्पादन तथा कौसी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

तालिमको प्राविधिक सहजीकरण जरा सोसल भेन्चर ले गरेको थियो। कार्यक्रममा घरबाट निस्कने कुहिने फोहोरलाई कम्पोष्ट मलमा रूपान्तरण गर्ने विधि, त्यसको प्रयोग तथा कौसी खेतीका विभिन्न पक्षबारे सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने बानीको विकास गर्न आवश्यक रहेको बताउनुभयो। कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गरी कौसी खेतीमा प्रयोग गर्न सकिने तथा नकुहिने फोहोरलाई पुनः प्रयोग वा बिक्री वितरण गरेर समेत आर्थिक लाभ लिन सकिने उहाँले बताउनुभयो।

थासीखेल महिला समूहकी अध्यक्ष पुष्पा श्रेष्ठले घरमै कम्पोस्ट मल उत्पादन गर्न सके बाहिरबाट मल खरिद गर्नुपर्ने आवश्यकता नपर्ने बताउनुभयो। उहाँले यस्ता तालिमले घरायसी फोहोरको सदुपयोग गर्न प्रेरित गर्नुका साथै महिलाहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा सहभागीहरूले कम्पोष्ट मल बनाउने विधि, कौसी खेतीका लागि आवश्यक तयारी तथा जैविक खेतीका विविध पक्षबारे जानकारी लिएका थिए। सिकेका सीपलाई व्यवहारमा उतार्दै घरायसी फोहोरको उचित व्यवस्थापन, जैविक मल उत्पादन तथा स्वस्थकर तरकारी खेतीमा योगदान पुर्‍याउने प्रतिबद्धता समेत सहभागीहरूले जनाएका थिए।

कार्यक्रममा वडा नं. ५ का जनप्रतिनिधि, जरा सोसल भेन्चरका पदाधिकारी, थासीखेल महिला समूहका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। 


Leave Your Comments