ललितपुर - ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आयोजनामा ज्येष्ठ पूर्णिमा (ज्या पुन्हि) राष्ट्रिय संगीत दिवस प्रस्तावितको उपलक्ष्यमा विशेष सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपालको मौलिक संगीत, कला, संस्कृति तथा परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाभित्रका विभिन्न टोल तथा समुदायका सांस्कृतिक समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी समूहहरूले परम्परागत भजन, धिमे–नायखिं, बाँसुरी, भुस्याः, झ्यालीलगायत परम्परागत बाजागाजासहित सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै ललितपुरको सांस्कृतिक वैभव झल्काएका थिए।
कार्यक्रममा प्रस्तुत गरिएका भजन, मौलिक सांगीतिक धुन तथा सांस्कृतिक नृत्यहरूले दर्शकहरूको विशेष ध्यान आकर्षित गरेका थिए। विभिन्न समुदायका कलाकारहरूले आफ्ना मौलिक पहिचान झल्किने प्रस्तुति दिँदै नेपालको सांस्कृतिक विविधता, परम्परा र सम्पदाको महत्वलाई उजागर गरेका थिए।आयोजक समितिका अनुसार संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई एकताबद्ध गर्ने, सांस्कृतिक पहिचान जोगाउने र नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति आकर्षित गराउने महत्वपूर्ण माध्यम भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। स्थानीय स्तरमा रहेका प्रतिभाशाली कलाकारलाई प्रोत्साहन गर्दै परम्परागत संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महानगरपालिका निरन्तर प्रतिबद्ध रहेको समितिले जनाएको छ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठ, विभिन्न सांस्कृतिक संघ–संस्थाका प्रतिनिधि, कलाकार, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
ललितपुर महानगरपालिकाले स्थानीय भाषा, कला, संगीत, संस्कार, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नियमित रूपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। ज्येष्ठ पूर्णिमा (ज्या पुन्हि) को अवसरमा आयोजित यस सांगीतिक कार्यक्रमले परम्परागत संगीत र सांस्कृतिक सम्पदाप्रति नागरिकको आकर्षण बढाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।