वडा नं. २८ र २९ मा ‘पठन संस्कृति’ अभियान, किताबप्रति आकर्षण बढाउन जोड

Date: 2026-08-10
news-banner
ललितपुर । पठन संस्कृतिको विकास गर्दै पुस्तकप्रति नागरिकको आकर्षण बढाउने उद्देश्यले आयोजित ‘विकासका लागि पठन संस्कृति’ कार्यक्रम सम्पन्न भएको छ। JB Education International Foundation को आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. २८, २९ र तथ्यपाटीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय बालबालिका तथा युवापुस्तामा पुस्तक पढ्ने बानी घट्दै गएको भन्दै पठन संस्कृतिको विकासका लागि परिवार, विद्यालय, समुदाय तथा सम्बन्धित निकायले संयुक्त रूपमा पहल गर्नुपर्नेमा जोड दिएका छन्।

ललितपुर महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष गणेशकुमार महर्जनले आजभोलिका बालबालिकाको ध्यान किताबभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित हुन थालेको बताउनुभयो। सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पुस्तक पढ्ने संस्कार कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले बालबालिकालाई नियमित रूपमा पुस्तक पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले किताब पढ्दा हरेक पानासँगै नयाँ–नयाँ विषयबारे जानकारी र ज्ञान हासिल गर्न सकिने बताउँदै पुस्तकलाई ज्ञानको महत्वपूर्ण स्रोतका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। 

त्यस्तै, ललितपुर महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष वीरेन्द्र महर्जनले पढ्ने बानीको विकास अरूबाट अपेक्षा गर्नुभन्दा आफूबाटै सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो। आफूले नियमित रूपमा पढ्ने संस्कार विकास गरे मात्र परिवार र समाजमा पनि त्यसको सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा JB Education International Foundation का अध्यक्ष दीपकराज जोशीले मानिसको सोच परिवर्तन गर्ने महत्वपूर्ण शक्ति किताबमा रहेको बताउनुभयो। नियमित अध्ययनले व्यक्तिको सोच, ज्ञान, सिर्जनशीलता तथा निर्णय गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उहाँले पुस्तकलाई जीवनको अभिन्न साथी बनाउनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष जोशीले पछिल्लो समय डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रयोग बढ्दै गए पनि पुस्तकको महत्व कम नभएको बताउँदै ज्ञान र विचारको दायरा फराकिलो बनाउन नियमित अध्ययन आवश्यक रहेको धारणा राख्नुभयो। पुस्तक पढ्ने संस्कृतिको विकासले व्यक्तिगत ज्ञान अभिवृद्धि मात्र नभई समाजको बौद्धिक तथा सांस्कृतिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

कार्यक्रमका वक्ताहरूले बालबालिकालाई मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगमा मात्र सीमित नराखी पुस्तक पढ्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका थिए। साथै, घर, विद्यालय र समुदायमा पठनमैत्री वातावरण निर्माण गर्न सके नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि बढाउन सकिने धारणा व्यक्त गरिएको थियो।

‘विकासका लागि पठन संस्कृति’ जस्ता कार्यक्रमले पुस्तक पढ्ने बानीको विकाससँगै नागरिकमा ज्ञान, चेतना र सकारात्मक सोच अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।


Leave Your Comments