ललितपुर - ललितपुर महानगरपालिका वडा नं.११स्थित रहेको बंगलामुखी मन्दिरमा जनै पूर्णिमाको तयारी भव्य हुदै छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन कुम्भेश्वरमा भव्य मेला लाग्ने हुँदा बंगलामुखी वरिपरि रंगरोगन र सरसफाइ गरि चिटिक पारिएको छ । उक्त दिन कुमेश्वरमा शिव लाई पुजा गर्न र जनै फेरको लागि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ ।
बंगलामुखीमा झाँक्रीहरु आ-आफ्नै परम्परागत भेषभुषामा सजिएर नाच्दै नाच्ने गाउने पनि गर्दछन्, जुन दृश्य अत्यन्त मनमोहक हुने गरेको छ। कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास पनि रहेको छ। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आरधना गर्न ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरमा
बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । श्री स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ । सर्वेश्वर महादेवको आराधना गरे रोगव्याधि निको भई दिर्घायु प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ।