ललितपुर - ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध कायम भएको छ ।
भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गर्नुभयो । महानगर प्रमुख चिरीबाबु महर्जन कोरियाको चेओरवन शहरको निमन्त्रणमा बुधबार त्यसतर्फ जानु भएको हो । समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले दुई शहरमा भएका असल अभ्यासहरु आदान प्रदान गर्ने बताउनुभयो । कोरियाका चेओरवन सहरमा कृषि,पर्यटनलगायतका क्षेत्रमा भएको विकासबाट आफू प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले सम्पदा संरक्षणको क्षेत्रमा धेरै काम गरेका छौँ, चेओरवनले हामीबाट सम्पदा क्षेत्रमा धेरै सिक्न सक्छ, हामीले कृषि र पर्यटन प्रबद्र्धनको क्षेत्र सिक्न सक्ने प्रशस्त ठाउँ छन् । ’ नगर प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुई शहर एक अर्काको दुख सुखको साझेदार भएको बताउँदै भन्नुभयो, ‘हामीले मित लगायाँँै, नाता जोडियो, सुख—दुख बाँड्छौँ । ’
चेओरवन सहरका मेयर ली ह्युन जोनले ऐतिहासिक र सांस्कृतिक शहर ललितपुरबाट आफू प्रभावित भएको बताउँदै एक अर्काको सहरमा भएका असल अभ्यास सिक्दै र सिकाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । झण्डै ६ महिना अघि ललितपुर गएको स्मरण गर्दै जोनले भन्नुभयो, ‘ललितपुरको सम्पदा र संस्कृतिलाई हामी कहिल्यै बिर्संदैनौं , त्यहाँ हामीले पाएको स्वागत सत्कार पनि त्यति नै आत्मीय थियो ।’
चेओरवनले ललितपुर महानगरलाई आफूले सफलता प्राप्त गरेको र उन्नति गरेको क्षेत्रमा सहयोग गर्न र सहकार्य गर्न हरदम तयार रहेको उहाँले दोहोर्याउनुभयो ।