प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन

Date: 2024-06-02
news-banner
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबिचको एकता मुलुकको पहिचान भएको बताउनुभएको छ । नेवा पत्रकार राष्ट्रिय दवूले ललितपुरमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीले बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त समाजमा मातृभाषा पत्रकारिताको महत्वपूर्ण योगदान रहने बताउनुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले मातृभाषा पत्रकारिताले सिमान्तकृत समुदाय र भाषिक विविधताको संरक्षक गर्ने बताउनुभयो ।सम्मेलनमा दबुका केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले पत्रकार धर्मादित्य धर्माचार्यले  नेवारी मातृभाषामा पत्रकारिताको सुरुवात गरेको बताउँदै सय बर्ष पुगेको अवसरमा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन गरिएको बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले मातृभाषा पत्रकारिताको प्रवर्धन र अन्तर्राष्ट्रिय स्तरमा मातृभाषालाई चिनाउन सम्मेलन सहयोगी हुने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले भाषा र संस्कृतिका साझा मुद्दामा सहकार्य गर्दै अघि बढ्न सम्मेलन आयोजना गरिएको बताउनुभयो,साथै विगत ९ वर्षदेखि प्रत्येक बर्ष मातृभाषा पत्रकारिता दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
सम्मेलनमा विभिन्न ४ देशका प्रतिनिधि र नेपालका मातृभाषा सम्बद्ध पत्रकारका सङ्घसंस्थाका प्रतिनिधिहरूले सम्मेलनको सफलताको कामना गर्नुभयो,  दवुका २९ जिल्लाका जिल्ला प्रतिनिधि, सार्क राष्ट्रहरू बङ्गलादेश, भुटान र भारतका पत्रकार प्रतिनिधि र अमेरिकाका पत्रकार प्रतिनिधि सम्मेलनमा सहभागी हुनुभएको छ ।

दवुले मातृभाषा प्रवर्धन र संरक्षणमा सहयोग गर्नुहुने काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख  विद्या सुन्दर शाक्य र वरिष्ठ पत्रकार श्रीकृष्ण महर्जनलाई सम्मान गरेको थियो  । दबुले मातृभाषाको विकास र संरक्षणमा योगदान गरेबापत सल्लाहकार सुरेश किरण महर्जन र अधिवक्ता किरण शाक्यलाई पनि सम्मान गरेको छ ।

नेपालभाषाको पत्रकारिताको माध्यमबाट मातृभाषाको पत्रकारिताको विकासमा पुर्‍याउनुभएकोयोगदानलाई कदर गर्दै सो सम्मान गरिएको थियो भने पूर्वमेयर शाक्यले काठमाडौं महानगरपालिकामा कक्षा १ देखि ८ सम्म नेपालभाषाको माध्यमबाट पढाउने विषय नीतिगत रुपमा सम्बोधन गरी थालनी गर्नुभएको थियो।

Leave Your Comments