ललितपुर – बाग्मती गाउँपालिका वडा नम्बर ७ गिम्दीमा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा रहेका ६८ वर्ष नाघेका १५० जना भन्दा बढी जेष्ठ नागरिकलाई छाता, टोपी , ओढ्नी र पानी तताउने इलेक्ट्रिक जग दिएर सम्मान गरिएको हो ।
वडा अध्यक्ष होम प्रसाद बजगाइँले जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई कदर गर्दै सम्मान गरिएको बताए । शनिबार वडा कार्यलय नजिकै रहेको नारायणडाँडाको वरको चौतारोमा वडा भरिका जेष्ठ नागरिकहरुलाई भेला गराई सम्मान गरिएको थियो । जेष्ठ नागरिकलाई दिइएको छाता , टोपी र ओढ्नेको आफ्नै विशेषता रहेको बताउँदै वडा अध्यक्ष बजगाइँले चिसोमा पानी तताएर खान र वर्षायाममा पानी उमालेर खान सहयोग पुग्ने हेतुले इलेक्ट्रिक जग वितरण गरिएको स्पष्ट पारे ।
यसअघि वडाले काठमाडौंको शहरी भेगमा बस्दै आएका आफ्ना २९ जना वडावासी जेष्ठ नागरिकलाई एक साता अघि नै सम्मान गरिसकेको थियो । यूवालाई प्रोत्साहन र जेष्ठ नागरिकलाई सम्मान भन्ने नारासहित वडाले पटक पटक यस्ता कार्यक्रम गर्दै आएको छ ।
बाग्मती प्रदेश कमीटि सदस्य एवं प्रखर वक्ता भवानी बजगाइँले जेष्ठ नागरिक आमाहरुलाई ओढ्ने ओढाएर सम्मान गरेकी थिइन् भने वडा अध्यक्ष होम प्रसादले जेष्ठ नागरिक बुबाहरुलाई टोपी लगाइदिएर सम्मान गरेका थिए ।
यसैगरी वडा सदस्यहरु मदन आलेमगर , जय बहादुर भुलुन र रमिला बराम तथा स्थानीय माओबादी नेता दुर्गा बहादुर रुम्बा, नारायण माविका प्रअ ईश्वर प्रसाद संजेल र जनक माविका प्रअ गोर्कण बहादुर फुँयालले सम्मानित हुने जेष्ठ नागरिकलाई जग र छाता हस्तान्रण गरेका थिए ।
वडा अध्यक्ष बजगाइँले अगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । उनले शिक्षक फुँयालको सुझावलाई मध्यनजर गर्दै आगामी दिनमा छोटो दुरीको तीर्थयात्रा सम्म गर्न सकिने बताए ।
शनिबार वडा कार्यालयले कुमारी बैंकका कर्मचारीलाई वडामै डाकेर जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भत्ता पनि वितरण गरेको थियो । भट्टेडाँडासम्म धाएर भत्ता लिन जानुपर्ने अवस्थालाई सजिलो बनाएकोमा जेष्ठ नागरिक तथा अन्य भत्ता लिन आउनेहरुले वडालाई धन्यवाद दिए ।
८१ वर्षीय क्षेत्र बहादुर बस्नेतले वडामै आएर भत्ता थाप्न पाउँदा सजिलो भएको बताए र्। टाढासम्म भत्ता लिन कसरी जाने भन्ने थियो , वडाले हामीलाई सजिलो पारिदिएको छ, उनले भने र्, हामीले केही न केही सुविस्ता पाएका छौँ ।
सम्मान सहित सामग्री पाउँदा ७५ कटेका कान्छि तिमलसीना र ठूलीमाया सिङतानको पनि खुसीको सीमा रहेन। अब फारो गरी यो सामान चलाउँछु , ओढ्नेमा सामान पोको पारेर हिड्दै गरेकी ठूलीमायाले भनिन् र्, जिन्दगीमा कति हण्डर खाईयो , यसरी सम्मान पाउँदा आनन्द लाग्ने रेछ ।
वडाभित्रका खुर्मी , साउमारा, बर्केथुम, नागटार, कटुवा, सुबाने, काउसे लगायतका स्थानबाट सम्मान थाप्न र भत्ता लिन वडाबासी पुगेका थिए ।
वडामा चौतारी
प्रेस चौतारी ललितपुरले सम्मान कार्यक्रमकै दौरान वडामा चौतारी पनि आयोजना गरेको थियो । ललितपुरका अध्यक्ष नवीन लुईटेलले जिल्लाको सुदुर भागमा गएर वडामा चौतारी कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । उनले ललितपुर शहरी भेगमा मात्र सिमित नभएर दुर्गभ गाउँभित्र पनि छ भन्ने सन्देश दिन र त्यहाँको अवस्था जनमानसमा पु¥याउन गिम्दीमा कार्यक्रम आयोजना गरिएको बताए ।