दोस्रो नेशनल च्याम्पियनसिपमा जियानाको चमक

Date: 2025-11-01
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ११ निवासी ८ वर्षीय जियाना महर्जनले नेपालगन्जमा सम्पन्न दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिपमा सहभागी भई गर्विलो सफलता हात पारेकी छिन्।

अण्डर–८ गल्र्स समूह अन्तर्गत २५ मिटर दूरीका दुई फरक प्रतिस्पर्धामा उनले स्वर्ण पदक जितिन् भने अर्को प्रतिस्पर्धामा रजत पदक प्राप्त गरिन्। एकै प्रतियोगितामा ३ पदक प्राप्त गरेर जियानाले आफ्नो असाधारण प्रतिभा, लगन र कठोर परिश्रमको परिचय दिएकी हुन्।प्रतियोगितामा देखिएको उनको अनुशासन, दृढता र आत्मविश्वासले सबैको ध्यान आकर्षित गर्‍यो। अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै जियानाले २५ मिटर दूरी अत्यन्तै कम समयमा पार गर्न सफल भइन्। दर्शक तथा आयोजकहरू समेत उनको क्षमताबाट प्रभावित भए। यस उपलब्धिले जियानालाई जिल्लामात्र होइन, राष्ट्रिय स्तरमा पनि एक उदीयमान खेलाडीका रूपमा स्थापित गरिदिएको छ।उनको यस सफलता सम्मानार्थ लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेद्वारा प्रशंसापत्र तथा मेडल प्रदान गरी सम्मानित गरिएको थियो।‘नेपालकी सबैभन्दा कान्छी जल परि’ को उपनामले चिनिने जियाना सानै उमेरदेखि खेलकुदमा रुचि राख्दै आएकी छिन्। परिवारको साथ, प्रशिक्षकहरूको मार्गदर्शन र आफ्नो सतत अभ्यासका कारण उनले यो सफलता हात पारेकी हुन्।


जियानाको यस विशिष्ट उपलब्धिप्रति ललितपुर महानगरपालिका वडा नं. ११ ले हार्दिक बधाई र शुभकामना व्यक्त गरेको छ। वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिहरूले यो उपलब्धि ललितपुर र देशकै गौरवको विषय भएको उल्लेख गर्दै जियानाको उज्वल भविष्यको कामना गरेका छन्।देशकै कान्छी जल परि जियाना महर्जनको सफलताले बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्ने उदाहरण प्रस्तुत गरेको छ। यो उपलब्धि भावी खेल नायिकाको पहिचान बन्ने विश्वास गरिएको छ।


Leave Your Comments