जलः आँखा तथा कान उपचार केन्द्रमा फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया
Date: 2026-01-29
ललितपुर - ललितपुर महानगरपालिका वडा नं.२९ हरिसिद्धिमा रहेको जलः आँखा तथा कान उपचार केन्द्रमा पहिलो पटक फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया गरिएको छ।ललितपुर महानगरपालिका वडा नं. २९ को आयोजना तथा सगरमाथा चौधरी लाहान अस्पतालको प्राविधिक सहयोगमा उक्त शल्यक्रिया सेवा प्रदान गरिएको हो।
ललितपुरका महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले जलः आँखा तथा कान उपचार केन्द्र ललितपुर महानगरपालिकाभित्रकै पहिलो आँखा उपचार केन्द्र रहेको बताउनुभयो। यसअघि पनि वडा नं.२९ मा दुई पटक आँखा शिविर सञ्चालन भइसकेको र त्यसबाट स्थानीय बासिन्दा लाभान्वित भएको उहाँले जानकारी दिनुभयो।
उक्त सेवा वडा नं. २९ हरिसिद्धिमा मात्र सीमित नभई सम्पूर्ण ललितपुर महानगरपालिकाका बासिन्दा तथा गोदामचौर, धापाखेललगायत क्षेत्रका नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो।आँखाको उपचार सेवा सर्वसुलभ, गुणस्तरीय तथा स्थायी रूपमा घरआँगनमै उपलब्ध गराउने उद्देश्यले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा २०८१ जेठ ३१ गते उद्घाटन भई जलः आँखा तथा कान उपचार केन्द्र सञ्चालनमा आएको हो। हाल सो केन्द्रमार्फत आँखासम्बन्धी विभिन्न उपचार सेवा उपलब्ध गराइँदै आएको छ।
बाल नेत्र रोग विशेषज्ञ डा. सञ्जय कुमार सिंहका अनुसार फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया गर्नुका साथै मोतिबिन्दु तथा आँखामा मासु पलाउने जस्ता शल्यक्रिया केन्द्रमै गरिँदै आएको छ।
आँखा परीक्षण तथा उपचारका लागि आएका सेवाग्राहीहरूले आफ्नै वडामा सहुलियत मूल्यमा आँखाको शल्यक्रिया सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।