महिलालाई सीप र रोजगारीतर्फ उन्मुख बनाउँदै दक्षिणकाली महिला समूह

Date: 2026-03-12
news-banner
ललितपुर - “जहाँ महिला त्यहाँ विकासका पाइला” भन्ने नारासहित दक्षिणकाली महिला समूहको आयोजनामा तथा ललितपुर महानगरपालिका वडा नं. ५ को सहयोगमा सात दिने मोति तथा क्रिष्टलको माला बनाउने तालिम सुरु भएको छ।


कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले सानो लगानीबाट पनि महिलाहरूले राम्रो आयआर्जन गर्न सक्ने बताउनुभयो। उहाँले अहिले क्रिष्टलका मालाहरू विदेशीहरूले समेत किनेर लैजाने भएकाले यसको राम्रो बजार रहेको उल्लेख गर्दै फुर्सदको समयमा पनि काम गरेर आम्दानी गर्न सकिने बताउनुभयो। सिकेको सीपलाई व्यवहारमा उतार्न सके महिलाहरू सानो लगानीबाटै उद्यमी बन्न सक्ने उहाँको भनाइ थियो।


कार्यक्रम संयोजक तथा वडा नं. ५ की महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठले सात दिनसम्म सञ्चालन हुने तालिममा सहभागी महिलाहरूले सीप राम्रोसँग सिकेर आगामी दिनमा आफैं प्रशिक्षक बन्ने अपेक्षा वडा कार्यालयले गरेको बताउनुभयो। उहाँले क्रिष्टलको माला विवाह, व्रतबन्ध लगायत विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रममा प्रयोग हुने भएकाले यसको माग बढ्दो रहेको जानकारी दिनुभयो।


दक्षिणकाली महिला समूहकी अध्यक्ष सुनिता श्रेष्ठले महिलाहरूको सशक्तीकरणका लागि सीप अत्यन्त आवश्यक रहेको बताउँदै हातमा सीप भए कुनै पनि कठिन अवस्थामा पनि काम गरेर आयआर्जन गर्न सकिने बताउनुभयो।


कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य अशोककुमार श्रेष्ठ र वडा सदस्य मञ्जु रिजालले पनि शुभकामना व्यक्त गर्नुभएको थियो।

सात दिनसम्म सञ्चालन हुने उक्त तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Leave Your Comments