ललितपुर - “व्यवसाय एकता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुर जिल्लाको आयोजनामा ४५ दिने कोट कटिङ्ग तथा सिलाई तालिम औपचारिक रूपमा सुरु भएको छ। ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको सहयोगमा सञ्चालन भएको उक्त तालिमसँगै २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) समेत विमोचन गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठले सीप र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि महानगरले निरन्तर विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले स्वदेशमै पर्याप्त सम्भावना हुँदाहुँदै पनि युवाहरू विदेश पलायन हुने क्रम बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता तालिमहरूले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुर जिल्लाका अध्यक्ष पूर्ण महर्जनले विदेश पलायन रोक्नका लागि सीपमूलक तालिम अपरिहार्य रहेको बताउनुभयो। उहाँले “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको उल्लेख गर्दै यसले विशेषगरी युवाहरूलाई आफ्नै देशमा स्वरोजगार बन्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, संघले विगतदेखि नै सिलाई व्यवसायसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
समितिका सदस्य सचिव खगेन्द्र वस्तीले जनताले तिरेको करको सही सदुपयोग गर्दै महानगरले यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार यस्ता तालिमहरूले विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक आयआर्जनमा टेवा पुर्याउनेछन्। “रोजगारको खोजी मात्र होइन, आत्मनिर्भर बन्नु अहिलेको आवश्यकता हो,” उहाँले जोड दिनुभयो।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुर तथा टेलरिङ व्यवसाय संघका अध्यक्ष हरि गोविन्द खपालले वर्तमान अवस्थामा हरेक व्यवसाय विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको बताउँदै यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ सरकारसमक्ष व्यवसायीका समस्याहरू समाधान गर्न पहल गर्न आग्रह समेत गर्नुभयो।
बागमती प्रदेश नेपाल टेलरिङ व्यवसाय महासंघका संयोजक हितेन्द्रले २०८३ सालको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले व्यवसायीहरूबीच एकता र सहकार्य थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
संघका पूर्व उपाध्यक्ष तथा प्रशिक्षक कृष्णबहादुर खपालले सिलाई व्यवसाय विस्तारै खुम्चिँदै गएको र दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले यस क्षेत्रलाई पुनः सशक्त बनाउन महिला तथा पुरुष दुवैलाई समान रूपमा अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
काठमाडौं उद्योग वाणिज्य संघका उपाध्यक्ष रमनाथ श्रेष्ठले सिलाई तथा कपडा व्यवसायलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले बजारमा बढ्दै गएको विचौलिया समस्याले व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै यसको अन्त्यका लागि नीति तहबाट पहल आवश्यक रहेको बताउनुभयो।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले सीपसँगै व्यवसायिक सोच र बजार व्यवस्थापनको ज्ञान अपरिहार्य रहेको बताउनुभयो। उहाँले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी कसरी बजार विस्तार गर्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
नेपाल टेलरिङ व्यवसाय महासंघका अध्यक्ष सदीश श्रेष्ठले संघको गतिविधिबारे प्रकाश पार्दै कर्मचारी तथा विद्यार्थीहरूको पोशाक भत्तालाई व्यवस्थित बनाउन बिल पेश गरेपछि मात्र भत्ता उपलब्ध गराउने व्यवस्था लागू गर्न सरकारसमक्ष आग्रह गर्नुभयो।
कार्यक्रममा संघकी उपाध्यक्ष मैयाँ मानन्धरले तालिममार्फत दक्ष जनशक्ति उत्पादन भइरहेको बताउँदै यस्ता कार्यक्रमहरूले दीर्घकालीन रूपमा व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उक्त ४५ दिने तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै युवाहरूलाई सीपयुक्त र आत्मनिर्भर बनाउन टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।