माटोको मूर्तिकला सम्बन्धी एक महिने एडभान्स तालिम सुरु

Date: 2026-04-27
news-banner
ललितपुर - ललितपुरमा परम्परागत कला संरक्षण र सीप विकासलाई लक्षित गर्दै माटोको मूर्तिकला सम्बन्धी एक महिने एडभान्स तालिम सुरु गरिएको छ। ललितपुर महानगरपालिका अन्तर्गत उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोगमा सञ्चालनमा आएको उक्त तालिम संस्कृति सम्पदा सीप कलासङ्घ ललितपुरको आयोजनामा तथा पर्यटन प्रवर्द्धन समिति ललितपुर वडा नं ६ को सहकार्यमा सञ्चालन गरिएको हो।

तालिमको प्रमुख उद्देश्य परम्परागत माटोको मूर्तिकला जस्तो मौलिक सीपलाई संरक्षण गर्नुका साथै नयाँ पुस्तामा हस्तान्तरण गर्नु, दक्ष जनशक्ति उत्पादन गर्नु र स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ। यससँगै ललितपुरको समृद्ध कला–संस्कृतिलाई प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने लक्ष्य पनि तालिमले राखेको छ।

तालिम उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष राजेन्द्र महर्जनले यस्ता सीपमूलक तालिमहरू समयानुकूल र अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले परम्परागत कला संरक्षणसँगै युवाहरूलाई आत्मनिर्भर बनाउने दिशामा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई लगनशीलताका साथ तालिम ग्रहण गर्न आग्रह गर्नुभयो।


कार्यक्रममा कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति वडा नं. ६ का संयोजक सुनिल शाक्य, शिल्पकार समाजका अध्यक्ष धर्मरत्न शिल्पकार, संस्कृति, वाणिज्य तथा पर्यटन प्रवर्द्धन शाखाका प्रतिनिधि भीमसेन रिमाल, उदिप शाक्य, दिपेन्द्र राज शिल्पकार लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस तालिमले स्थानीय युवाहरूलाई सीपयुक्त बनाउँदै आयआर्जनका अवसरतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।




Leave Your Comments