श्री शृङ्गेरी माध्यमिक विद्यालयको ३०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

Date: 2026-04-30
news-banner
श्री शृङ्गेरी माध्यमिक विद्यालयको ३०औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। सोही अवसरमा विद्यालयद्वारा प्रकाशित ‘श्रङ्गेरी सुवास’ नामक स्मारिकाको औपचारिक विमोचन समेत गरिएको छ, जसले विद्यालयका शैक्षिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू समेटेको छ।

कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले उद्घाटन गर्दै शुभकामना व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। साथै, छात्राहरूका लागि पाठेघरसम्बन्धी स्वास्थ्य सुरक्षा कार्यक्रम (इन्जेक्सन व्यवस्थापन) सञ्चालन भइरहेको जानकारी दिनुभयो। मेयर श्रेष्ठका अनुसार विद्यालयस्तरमै प्रहरी–स्थानीय तह सहकार्य कार्यक्रममार्फत विद्यार्थीहरूलाई दुर्व्यवहारबाट जोगिने उपाय, सचेतना तथा आत्मरक्षा सम्बन्धी शिक्षा प्रदान गरिँदै आएको छ। विद्यार्थीको सुरक्षित भविष्यका लागि नगरपालिकाले निरन्तर लगानी बढाउँदै लगेको उहाँको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक निशा खुलालले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिइएको बताउनुभयो। उहाँका अनुसार शृङ्गेरी माध्यमिक विद्यालय ललितपुरमै पहिलोपटक अङ्ग्रेजी माध्यमबाट शिक्षण सुरु गर्ने सरकारी विद्यालयको रूपमा परिचित छ र जिल्ला स्तरमै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

संस्थापक प्राध्यापक माधव चन्दले विद्यालय स्थापना कालदेखि नै समर्पणका साथ अघि बढ्दै आएको उल्लेख गर्नुभयो। विद्यालयमा आधुनिक प्रविधिमार्फत शिक्षण हुँदै आएको छ—नर्सरीदेखि कक्षा ७ सम्म स्मार्ट टिभी र कक्षा ८ देखि १० सम्म स्मार्ट बोर्डमार्फत पठनपाठन भइरहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका वडा नं. ९ का अध्यक्ष जय कृष्ण बोगटीले शिक्षा सँगसँगै संस्कारको महत्त्व रहेको बताउँदै बालबालिकालाई नैतिक शिक्षा दिन अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा नाटक प्रस्तुत गरेका थिए। साथै उत्कृष्ट विद्यार्थी, शिक्षक तथा सहयोगीहरूलाई सम्मान गर्दै प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। समग्रमा, कार्यक्रमले विद्यालयको शैक्षिक उपलब्धि, भविष्यका योजना तथा समुदायसँगको सहकार्यलाई उजागर गरेको सहभागीहरूले बताएका छन्।



Leave Your Comments